उपेन्द्र यादवको अपिल : ‘भ्रमको पछि होइन, अधिकारको पक्षमा उभिनुहोस्’

उपेन्द्र यादवको अपिल : ‘भ्रमको पछि होइन, अधिकारको पक्षमा उभिनुहोस्’

सप्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आम मतदातालाई सार्वजनिक अपिल गर्दै केही तत्त्वबाट सुनियोजित ढङ्गले फैलाइएको भ्रम, हल्ला र अफवाहको षड्यन्त्रपूर्ण जालदेखि सचेत रहन आग्रह गरेका छन् ।

सप्तरी निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका अध्यक्ष यादवले चुनाव प्रचारको आज अन्तिम दिन स्पष्ट शब्दमा भनेका छन्, ‘निर्णायक क्षणमा जनताको मत कमजोर पार्न अनेक शक्ति सक्रिय छन् । योजनाबद्ध रूपमा फैलाइएको क्षणिक भ्रमले इतिहास बिर्सन लगाउन खोजिएको छ । तर सचेत मतदाता भ्रमित हुँदैन, ऊ आफ्नो संघर्ष सम्झन्छ ।’

अपील गर्दै यादवले भनेका छन्, ‘क्षणिक प्रलोभन र अफवाहको लहरमा नबग्नुहोस् । आफ्नो त्याग, इतिहास रस्वाभिमान सम्झनुहोस् । अधिकारको रक्षा गर्ने निर्णय लिनुहोस् । सचेत मत, बलियो मधेस, सुरक्षित भविष्य, यही हाम्रो साझा संकल्प हो ।’

अध्यक्ष यादवले मधेसको अधिकार, पहिचान र स्वाभिमान कुनै दान होइन, बलिदानको उपलब्धि भएको स्मरण गराएका छन् । ‘यो अधिकार कसैले उपहार दिएको होइन, मधेसले सडकमा र संसद्मा लडेर हासिल गरेको हो,’ उनले भने, ‘मधेसको दुःखसुखमा, आँसु र संघर्षमा निरन्तर साथ दिएको एउटै शक्ति एउटै हो, जसपा नेपाल ।’

संघीयता, स्वायत्तता र लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रहन आग्रह गर्दै उनले भनेका छन्, ‘आजको मतदान केवल प्रतिनिधि चयन होइन, यो मधेसको भविष्यको दिशानिर्देश हो । यदि हामी चुक्यौँ भने अधिकार सङ्कुचित हुन्छ, यदि दृढ भयौँ भने इतिहास सुरक्षित रहन्छ ।’
मधेस कमजोर पार्ने षड्यन्त्र अन्ततः संघीयता कमजोर पार्ने योजना हो ।