काठमाडाैं। इरानले अमेरिकी र इजरायली आक्रमणमा परी सर्वोच्च नेता अयातोल्लाह अली खामेनी मारिएकाे पुष्टि गरेको छ। आँखाभरि आँसु देखिएका सरकारी टेलिभिजनका एक प्रस्तोताले मुलुकमा ४० दिनसम्म शोक मनाउने घोषणा गरिएको बताए।
यसअघि इरानी सरकारी सञ्चारमाध्यमले हमलामा परी खामेनीकी छोरी, ज्वाइँ तथा नातिनातिना र एकजना बुहारी मारिएका जनाएको थियो।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तेहरानमाथि अमेरिकी-इजरेली हमलामा परी खामेनेई मारिएका सामाजिक सञ्जालमार्फत् घोषणा गरेका थिए। ट्रम्पले "इरानी जनता", "अमेरिकी जनता" र "विश्वभरि धेरै मानिसका निम्ति" "न्याय" भएको भनी सामाजिक सञ्जालमा लेखेका छन्।
उनले बमबारी "जारी रहने भन्दै "इरानी जनताका लागि "उनीहरूको देश फिर्ता लिने यो एक मात्र अवसर भएको" टिप्पणी गरेका छन्।
अमेरिका र इजराइलले गरेको हमलाको जबाफमा इरानले मध्यपूर्वभरि आक्रमण गरेको छ। दुबई, दोहा, बाहरेन र कुवेतमा अवस्थित अमेरिकी सैनिक अखडाहरूमा इरानले हमला गरेको विवरणहरूमा जनाइएको छ।
अमेरिका र इजरायलको हमलामा परी इरानमा दुई सय जनाभन्दा बढी व्यक्ति मारिएका रेडक्रसले जनाएको छ। इरानी सञ्चारमाध्यमहरूका अनुसार एउटा कन्या विद्यालयमाथि आक्रमण हुँदा कम्तीमा ८५ जना मारिएका छन्।
दोहामा त्यहाँ अवस्थित त्यस क्षेत्रकै सबैभन्दा ठूलो अमेरिकी सैन्य अखडा रहेको अल उदेइद हवाई अखडालाई निशाना बनाएर विस्फोटन भएको थियो। रोएटर्स समाचार संस्थाले इराकको एब्रिलस्थित अमेरिकी सैन्य अखडा नजिकै एउटा ड्रोनलाई अमेरिकी हवाई प्रतिरक्षा प्रणालीले खसालिदिएको जनाएको छ।
इजरायलसँग सीमा जोडिएको जोर्डनले उस्का सशस्त्र सैन्यले दुईवटा बलिस्टिक क्षेप्यास्त्रलाई खसालीदिएका जनाएको छ। संयुक्त अरब एमिरेट्सको दुबई शहरस्थित फेअरमोन्ट द पाम होटेलमा विस्फोटन भएको देखिएको छ। अधिकारीहरूले "पाम जुमेरा क्षेत्रमा एउटा भवनमा भएको" भनेका त्यस घटनामा चारजनालाई चोट पटक लागेको जनाइएको छ।
खामेनी सन् १९७९ को क्रान्तिपछिका इरानका दोस्रा सर्वोच्च नेता हुन्। सन् १९८९ मा रुहोल्लाह खोमेइनीको निधनपछि उनी सर्वोच्च नेता बन्न पुगेका थिए। खामेनीका कट्टरपन्थी धारणा र नीतिहरूले नै हालको इस्लामिक गणतन्त्रमा मानिसहरूको जनजीवनलाई आकार दिएको हो।
विगत चार दशकदेखि शक्तिमा रहिआएका खामेनीको कार्यालयको शक्तिले उनलाई देशको सर्वशक्तिमान व्यक्ति बनाएको थियो।