इजरायल र इरानमा रहेका नेपालीलाई सतर्कता अपनाउन र सुरक्षित रहन सरकारको आग्रह

इजरायल र इरानमा रहेका नेपालीलाई सतर्कता अपनाउन र सुरक्षित रहन सरकारको आग्रह

काठमाडौं । नेपाल सरकारले नेपाली नागरिकलाई इजरायल र इरानको यात्रा नगर्न आह्वान गरेको छ।

परराष्ट्र मन्त्रालयले शनिबार सूचना जारी गर्दै अवस्था सामान्य नहुँदासम्म दुवै देशको यात्रा नगर्न नेपाली नागरिकलाई आग्रह गरेको हो।

‘इजरायल वा इरान यात्रा गर्ने योजना बनाएका नेपाली नागरिकहरूलाई दुवै देशको अवस्था सामान्य नहुँदासम्म आफ्नो यात्रा स्थगित गर्न कडाइका साथ सुझाव दिइन्छ,’ सूचनामा भनिएको छ।

सरकारले मध्यपूर्व क्षेत्रमा विकसित हुँदै गएको अवस्थालाई नजिकबाट अनुगमन गरिरहेको भन्दै हाल इजरायल र इरानमा बसोबास गरिरहेका नेपाली नागरिकलाई सावधानीका उपाय अपनाउन अनुरोध गरेको छ।

‘इजरायल र इरानद्वारा जारी गरिएका सुरक्षा परामर्श तथा निर्देशनहरू कडाइका साथ पालना गर्नुहोस्,’ परराष्ट्र मन्त्रालयले भनेको छ, ‘सकेसम्म घरभित्रै बस्नुहोस्, सतर्क रहनुहोस्, आवश्यक सावधानी अपनाउनुहोस्, र आफू रहेको स्थानको नेपाली समुदायसँग नियमित सम्पर्कमा रहनुहोस्।’ मन्त्रालयले इजरायल र इरानका सम्बन्धित निकायहरूको पूर्वअनुमतिबिना यात्रा नगर्नसमेत आग्रह गरेको छ।