काठमाडौं, फागुन १५ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस वर्षको होली पर्व निर्वाचनको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै आ–आफ्नो घर कम्पाउन्डभित्र मात्रै मनाउन आग्रह गरेको छ। प्रशासनले एक सूचना जारी गर्दै आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै होली खेल्दा दलको चुनाव चिन्ह, लोगो वा उम्मेदवारको तस्बिर अंकित टिसर्टलगायतका सामग्री प्रयोग नगर्न र अरुलाई बाधा अवरोध नपर्ने गरी आफन्त र साथीभाइबीच मात्र चाड मनाउन निर्देशन दिएको हो।
यसवर्ष फागुन १८ गते पर्ने फागुन १८ गते पहाडमा र १९ गते तराईमा होली मनाइँदैछ । होलीमा राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसार हुने खालका कपडा लगाउन पूर्ण रूपमा रोक लगाउँदै प्रशासनले जारी गरिएको सूचनामा भनिएको छ, ‘निर्वाचन आचारसंहिता, २०८२ को परिच्छेद ४ को दफा १३ (घ) मा जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टि(सर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने व्यवस्था छ । सो सम्बन्धमा होली पर्वलाई लक्षित गरी निर्वाचन चिन्ह र उम्मेदवारका तस्बिर अंकित भेष्ट, टि-सर्ट, कमिज, गम्छा लगायतका कपडाहरू प्रयोगमा पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ।’
त्यसैगरी, कसैको इच्छाविपरीत रङ दल्ने, पानीको लोला र फोहोर हान्ने तथा बाटोमा होहल्ला र झैझगडा गरेमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिदै प्रशासनले खुला सडक र सार्वजनिक स्थानमा भेला भई भिडभाड गर्ने, मेला महोत्सव गर्ने, मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्ने तथा मादक पदार्थ बिक्री वितरण र सेवन जस्ता कार्य गर्न पनि रोक लगाएको छ।