एमालेलाई बहुमतसहित निर्णायक शक्तिको रुपमा स्थापित गर्नु राष्ट्रिय आवश्यकता : ओली

एमालेलाई बहुमतसहित निर्णायक शक्तिको रुपमा स्थापित गर्नु राष्ट्रिय आवश्यकता : ओली

झापा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा नेकपा एमाले एक्लै चुनावी मैदानमा रहेको बताएका छन्। नेकपा एमालेलाई बहुम सहित निर्णायक शक्तिको रुपमा स्थापित गर्नु राष्ट्रिय आवश्यकता भएको सबै नागरिकले समेत बुझि सकेको उनले बताए।

चुनावी प्रचार तथा मतदाता भेटघाटका क्रममा बिहिबार झापाको कमल गाउँपालिकामा केन्द्रित भएका उनले सञ्चार माध्यमसँग कुराकानी गर्दै चुनाव पछि देश सम्हाल्न नेकपा एमाले तयार रहेको समेत बताए।

उनले नेकपा एमालेले राष्ट्रिय स्वाभिमान, अन्तर्राष्ट्रिय सम्बन्ध तथा विकास र समृद्धीका लागि निर्वाह गरेको भूमिकाका कारण एमालेनै अहिलेको आवश्यकता हो भनेर बुझ्नुलाई अन्यथा लिन नहुने पनि बताए।

आसन्न प्रतिनिधी सभा निर्वाचनका लागि झापा क्षेत्र नं. ५ का उम्मेद्वार समेत रहेका ओली हाल निर्वाचन क्षेत्रका विभिन्न बस्तिमा पुगेर मतदाताहरुसँगको भेटघाटमा व्यस्त छन्।

यसैक्रममा ओली बिहीबार झापाको कमल ५ स्थित सिम्लेमा पुग्दा स्थानीयले भूमि सम्बन्धि समस्या समाधान गरि दिन आग्रह गरेका छन्। सडक तथा पुल निर्माण भएपछि जनजीवन सहज भए पनि अझै सम्म अव्यवस्थित बसोबासको समस्या समाधान नभएको स्थानीयले बताए।

यस्तै, कमल ३ को सानो केर्खामा पुग्दा स्थानीय किरातेश्वर तथा वाल्मिकी आश्रम तथा सिमसारलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिदिन स्थानीयले माग गरेका थिए। यी स्थानहरुको पूर्वाधार विकास गरि धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गराउन सकिने स्थानीयको भनाइ छ।