होली पर्व सुरु

होली पर्व सुरु

काठमाडाैं। रंगहरुको पर्व होली सुरु भएको छ। काठमाडौंको बसन्तपुरमा चीर ठड्याएसँगै होली पर्व शुभारम्भ गरिएको हो। काठमाडौँको वसन्तपुरमा मङ्गलबार बिहान ७ बजेर १३ मिनेटको शुभ साइतमा चीर ठड्याइएको हो।  मानन्धर समुदायका व्यक्तिहरूले रंगीचंगी ध्वजासहितको चीर ठड्याएर एक अर्कालाई अबिर लगाइ होली सुरु भएको जनाउ दिएका हुन्।

यस दिनमा पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर प्रांगणमा पनि रंगीचंगी कपडा झुन्ड्याएर होलीको आगमनको जनाउ दिने परम्परा रहेको छ। यस वर्षको होली पर्व हिमाली र पहाडी जिल्लामा फागुन १८ र तराई क्षेत्रमा फागुन १९ गते मनाइँदैछ।

भगवान विष्णुका भक्त प्रल्हादलाई मार्न प्रयास गर्ने होलिकाको मृत्यु भएको खुशीयालीमा अबिर लगाएर होली खेल्ने चलन सुरु भएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ।

बदलिँदो परिस्थिति अनुसार होली खेल्ने तौरतरिकामा भने हेरबदल हुँदै आएको छ । होलीमा जथाभावी रंग दल्ने, लोला हान्ने काम हुन नदिन स्थानीय प्रशासनले पनि कडा निगरानी राख्दै आएको छ। फागुन शुक्ल पूर्णिमाको रातमा होलिकाको प्रतिक चीर टुंडिखेलमा लगेर दोहन गरेपछि होली पर्व सकिने मान्यता रहि आएको छ।

छुटाउनुभयो कि ?