पाकिस्तानी आक्रमणको 'उपयुक्त समयमा जबाफ दिने' अफगानिस्तानको चेतावनी

पाकिस्तानी आक्रमणको 'उपयुक्त समयमा जबाफ दिने' अफगानिस्तानको चेतावनी

काठमाडाैं। पाकिस्तानले गुप्तचर सूचनाका आधारमा अफगानिस्तानसँगको सीमा क्षेत्रमा 'सातवटा आतङ्कवादी ठेगाना र शिविरहरू' लाई निशाना बनाएको बताएको छ।

अफगानिस्तानको तालिबान सरकारका प्रवक्ताले नान्गारहार र पक्तिकामा पाकिस्तानी हवाई आक्रमणमा महिला र बालबालिकासहित दर्जनौँ व्यक्तिको मृत्यु भएको बताएका छन्।

तालिबान सरकारको रक्षा मन्त्रालयले "उपयुक्त समयमा" बदला लिने चेतावनी दिएको छ।

बीबीसी पाश्तोका अनुसार अफगानिस्तानमा तालिबान सरकारको रक्षा मन्त्रालयले नान्गारहार र पक्तिका प्रान्तका "नागरिक क्षेत्रहरू" मा पाकिस्तानले हालै गरेको आक्रमणको निन्दा गर्दै एउटा विज्ञप्ति जारी गरेको छ।

नान्गारहारमा एउटा घरमा भएको आक्रमणमा २० जनाको मृत्यु भएको दाबी गरिएको छ। पक्तिकामा एउटा मदरसालाई पनि लक्षित गरिएको थियो।

पाकिस्तान सरकारले आफ्नो देशमा हालै भएका आत्मघाती हमलाहरूको प्रतिक्रियामा यो कारबाही गरिएको दाबी गरेको छ।

पाकिस्तानले गुप्तचर सूचनाका आधारमा सीमा क्षेत्रमा "आतङ्कवादीहरू लुक्ने सात स्थान र शिविरहरूलाई लक्षित" गरेको बताएको छ।

पाकिस्तानी सूचना तथा प्रसारण मन्त्रालयका अनुसार आक्रमणहरूले पाकिस्तानी तालिबान र यसका सम्बद्ध सङ्गठनहरू, फितना अल-खवारीज र इस्लामिक स्टेट अफ खोरासान प्रान्तका "सातवटा आतङ्कवादी ठेगाना र शिविरहरू" लाई लक्षित गरेका थिए।

पाकिस्तान सरकारले देशमा हालै भएका आत्मघाती हमलाहरूको प्रतिक्रियामा यो कारबाही गरिएको जनाएको छ।

"पाकिस्तानसँग ती आतङ्कवादी हमलाहरू खवारीज समूहले अफगानिस्तानमा अवस्थित नेतृत्वको निर्देशनमा गरेको बलियो प्रमाण छ। अफगानिस्तानमा अवस्थित पाकिस्तानी तालिबान, उनीहरूका सहयोगीहरू र इस्लामिक स्टेट अफ खोरासान प्रान्तले पनि यी हमलाहरूको जिम्मेवारी लिएको छ," एउटा विज्ञप्तिमा भनिएको छ।

अफगान तालिबान सरकारलाई ठोस कारबाही गर्न बारम्बार आग्रह गरेको भए पनि ती समूहहरूविरुद्ध कुनै कारबाही नगरिएको पाकिस्तानले दाबी गरेको छ।

आफ्नो भूमि "खावारीज र अन्य आतङ्ककारीहरूले पाकिस्तानविरुद्ध" प्रयोग गर्नबाट रोक्न पनि अफगान तालिबान सरकारसँग पाकिस्तानले माग गरेको छ।

अफगान तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानी सेनामाथि अफगान सीमा उल्लङ्घन गरेको आरोप लगाएका छन्।

पाकिस्तानी सेनाको आक्रमणमा महिला र बालबालिकासहित दर्जनौँ व्यक्ति मारिएका र घाइते भएका उनले बताए।

"हिजो राति पाकिस्तानी सेनाले नान्गारहार र पक्तिका प्रान्तमा हाम्रा निर्दोष नागरिकहरूमाथि बमबारी गर्‍यो, जसमा महिला तथा बालबालिकासहित दर्जनौँ मारिए र घाइते भए," प्रवक्ता मुजाहिदले एउटा विज्ञप्तिमा भनेका छन्।

"पाकिस्तानी जनरलहरूले यस्ता अपराधहरूमार्फत्‌ आफ्नो देशका सुरक्षा कमजोरीहरूको क्षतिपूर्ति गरिरहेका छन्," उनले थपे।

तालिबान सरकारको रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्लाह ख्वारिज्मीले हमलाको भर्त्सना गरेका छन्।

"अफगानिस्तानको राष्ट्रिय सार्वभौमसत्ताको यो स्पष्ट उल्लङ्घनको रक्षा मन्त्रालयले कडा शब्दमा निन्दा गर्छ र यो कार्यलाई अन्तर्राष्ट्रिय कानुन, असल छिमेकी सिद्धान्त र इस्लामिक मूल्यमान्यताको स्पष्ट उल्लङ्घन ठान्छ," एउटा विज्ञप्तिमा उनले भनेका छन्।

"रक्षा मन्त्रालयले देशको सार्वभौमसत्ता र जनताको रक्षा गर्नु आफ्नो जिम्मेवारी ठान्छ र उपयुक्त समयमा योजनाबद्ध प्रतिक्रिया जनाउने चेतावनी दिन्छ।"