पूर्वराजा ज्ञानेन्द्रको चिन्ता : देश नै नबच्ने हो कि भन्ने निराशा बढ्यो

पूर्वराजा ज्ञानेन्द्रको चिन्ता : देश नै नबच्ने हो कि भन्ने निराशा बढ्यो

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले नारायणहिटी राजदरबार छोडेको एक दशक बितिसक्दापनि राष्ट्रले भोगेको संकट झनै बढेको भनेर चिन्ता व्यक्त गरेका छन्। उनले हिजो देश नबनेकोमा चिन्ता भएपनि अहिले त देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको भनेर चिन्ता व्यक्त गरेका छन्।

पृथ्वीजयन्तीको अवसरमा आज भिडिओ सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् । उनले अब सबै नेपालीले आफ्नो कर्तव्यबोध गरेर पृथ्वीपथमा लाग्नुपर्ने अपिल गरे । उनले राष्ट्रको प्रतिष्ठासँग नेपालीहरुको पनि प्रतिष्ठा जोडिएको हुने स्मरण गराए।

‘नारायणहिटी राजदरबाट हामी बाहिरिएको करिब २ दशक बित्दा पनि देशले सामना गर्नुपरेको संकटले हामीलाई चिन्तित तुलाएको छ । हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ,’ पूर्वराजा शाहले भनेका छन्।

यस्तो छ उनको सम्बोधनको पूर्णपाठ

स्वदेश तथा बिदेशमा रहे बसेका प्यारा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु,

नेपाल राष्ट्रका निर्माता, नेपाली समाजका समन्वयकर्ता एवं एकताका धरोहर श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह आम नेपालीका निम्ति श्रद्धा तथा सदा स्मृतिका व्यक्तित्व होइबक्सिन्छ । मौसुफको तीन सय चारऔं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका उपलक्ष्यमा हामी उहाँलाई नमन गर्दै श्रद्धासुमन अर्पण गर्दछौं ।

जस्तोसुकै शक्तिसंग पनि संघर्ष गरेर राष्ट्र एकिकरणमा सबै जात, सबै धर्म र सबै क्षेत्रका नेपालीको सकृय, सबल र सफल नेतृत्व गरेको शाहवंशीय राजसंस्थाको इतिहास सबैका सामु छर्लङ्ग छ । नेपाली जनताको खुशी र समृद्धिलाई नै आफ्नो रुचि ठान्ने शाहवंशीय परम्परा रहँदै आएको छ ।

बडामहाराजाधिराजको मार्ग निर्देशनको परिधिमा रही, हामीले नेपालीजनको एकता र बृद्धिमा जोड दिंदै आएका थियौं र छौं । तर कालान्तरमा कतैबाट उत्पन्न अवान्छित भ्रमको चपेटामा देश पर्‍यो ।

झण्डै दुई दशक अघि शान्ति ल्याउँछौं र आर्थिक प्रगति तर्फ देशलाई लैजान्छौं र स्थायित्व दिन्छौं भनेर सत्तामा पुगेका दलहरुको चाहनाअनुसार हामीले “श्रीपेच र राजदण्ड” जनताको नासो जनताकै सुरक्षित संरक्षणमा बुझाई सहयोगी नियतका साथ राजकाजबाट बाहिरै रहेको सर्वविदितै छ । यो

दायित्वबाट पलायन वा निषेधित राजनीतिका निम्ति कमजोरीको अनुमोदन थिएन । न त यो भावना आमजनतामा नै थियो। नारायणहिटी राजदरवारबाट हामी बाहिरीएको करीब दुई दशक बित्दा पनि देशले सामाना गरिरहनु परेको संकटले हामीलाई चिन्तित तुल्याएको छ । हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो की भन्ने निराशा पैदा भएको छ ।

बडामहाराजाधिराजबाट बाइस बर्षको युवा अवस्था मै सुरु गरिबक्सेकोे एकिकरणको सफलता पछि आधुनिक नेपाललाई “चारवर्ण, छत्तिस जातको साझा फुलबारी” को रुपमा चित्रण गरिबक्सेको थियो । यो मुलुक राजाको मात्र होइन जनता र राजाको समान स्वामित्वको देश हो भन्ने सन्देश पनि दिइबक्सेको थियो । भाषण अनि जादू वा चमत्कारले यो देश बनेको होइन र बन्दैन पनि ।

सबैजात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधीका रुपमा काम गरेको राजसंस्था, जनताले सुम्पेको जिम्मेवारीबाट विमुख हुनै सक्दैन । सबै नेपालीले यो कर्तव्यबोध गरि “पृथ्वी पथ” मा लाग्नु पर्दछ भन्ने हाम्रो धारणा र आव्हान पनि छ । नेपाली विश्वमा जहाँ रहेपनि नेपालीमुलको भन्ने नै हुन्छ । त्यसैले राष्ट्रको प्रतिष्ठासंग नेपालीको प्रतिष्ठा पनि संगै जोडिएको हुन्छ । मुलुक स्थायी वा अस्थायी रुपले छोडदैमा देशसंगको सम्बन्ध तोडिन सक्दैन ।

देशबाट जनशक्ति पलायन हुँदै जानुले देशको भविश्यबारे निराशाको संकेत दिइरहेको थियो । अब पुँजी र पुँजीपतिहरु तथा कर्मवीर उद्यमीहरुको समेत पलयान हुन थालेको छ । यो क्रमलाई तत्काल निरुत्साहित र नियन्त्रण गर्न सकिएन भने मुलुक असफलताको संघारमा पुग्न सक्ने सम्भावनालाई लिएर हामी आहत भएका छौं । बडामहाराजाधिराजबाट स्वदेशको पुँजी पलायनमा रोक लगाउनु पर्ने पक्षलाई महत्वका साथ जोड दिइबक्सि “जनता सक्षम र बलिया भए मात्र देश बलियो हुन्छ” भनी दिव्य उपदेशमा उल्लेख गरिबक्सेको छ ।

जब जब युवापुस्ताको भावना, चाहना र आवश्यकताको सम्बोधन गरिँदैन तब तब असन्तोष पैदा हुन्छ । जसले विद्रोहको रुप पनि लिनसक्छ भन्ने सत्य, नेतृत्वले हृदयगम गर्नै पर्दछ । नेतृत्वले पटक पटक युवालाई प्रयोग मात्र गर्ने तर उनीहरुको आवश्यकता बुझेर काम नगर्ने प्रवृत्तिले युवामा असन्तोष जन्मेर देशमा जनधनको हानी भयो । जसरी भविश्यका कर्णधारहरुको ज्यान गयो त्यसले सबैलाई स्तब्ध बनाएको छ ।

युवाहरुमा भ्रष्टाचारप्रति असहिष्णुता र आइटी प्रतिस्पर्धामा अग्रताको जोश देखिनु उज्वल भविश्यको संकेत हुन तर उन्नतिको गन्तव्यमा राजनीति चुक्यो भने अल्छिको सपना मात्र बन्न जान्छ । स्वचालित व्यक्तिले राष्ट्रको हित खोज्दै जान्छ, परिचालित व्यक्तिले अर्काको मित खोज्दै हिँड्छ । राष्ट्रिय सहमति विना निकास खोज्नु समय खेर फाल्नु मात्र हो । सम्मुन्नतिको यात्रामा सबै मिलेर अघि बढौं ।

नेपालको सम्बेदनशील अवस्था र बदलिँदो भूराजनीतिक परिस्थितिलाई बुझ्न नसक्दा हामी मित्रराष्ट्रहरुको विश्वास र भरोसा गुमाउने अवस्थामा पुगेका छौं । असन्तुलित बन्दै गइरहेको परराष्ट्र नीति र व्यवहारले राष्ट्रिय हितमा गम्भीर असर पुगिरहेको समयमा दिव्य उपदेश र बौद्धिक दृष्टिकोणहरूको महत्व अझ बढ्दै गएको छ । कतिपय देशले स्वार्थको लागि कुनै न कुनै सुरक्षा कवज खोज्दछन्, हाम्रो देशको सही छाहरी शान्तीको कवज हुनै पर्दछ । नेपाल निर्माणमा मार्गदर्शी र सेनापति बडामहाराजाधिराजको विरासत र वंशका प्रतिनिधिका रुपमा मेरो भूमिका स्पष्ट रहेको छ ।

पृथ्वीपथले वकालत गरेको राष्ट्रिय स्वतन्त्रता, सबैतहका भ्रष्टाचारलाई दण्डनीय अपराध मान्ने र कसैप्रति “घाह” नराख्ने शान्तिक्षेत्र नेपाल नै हाम्रा अभिष्ट र मार्गचित्र हुन । जनताको चाहनाबाट “कजाई” निर्धारित हुनुपर्ने परिकल्पना पृथ्वीपथका मौलिक आकाँक्षा हुन् ।

अन्त्यमा, जनता र राजाले एकिकरण गरेर निर्माण गरेको नेपाल राष्ट्रको समग्र हितलाई आत्मसाथ गर्दै सबल राष्ट्र बनाउने महान कार्यमा सबैलाई जुटाउँ र नेपाललाई फेरी उठाउँ । श्री गोरखनाथले हामी सबैलाई सत्बुद्धि दिउन् । जय नेपाल !