करको दर संशोधन विवाद: राप्रपाद्वारा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग

करको दर संशोधन विवाद: राप्रपाद्वारा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बजेट वक्तव्यमार्फत करका दरहरूमा गरिएको हेरफेरलाई लिएर गम्भीर आपत्ति जनाउँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा मागेको छ।

व्यवस्थापिका संसद्अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै राप्रपाका प्रमुख सचेतक खुस्बु ओलीले करको दर संशोधनमा संशय पैदा भएको भन्दै अर्थमन्त्रीले पदबाट राजीनामा दिई छानबिनका लागि मार्गप्रशस्त गर्नुपर्ने माग राखेकी हुन्।

बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख सचेतक ओलीले करका दरहरूमा गरिएको थपघटको विषय अत्यन्तै संवेदनशील र गम्भीर भएको भन्दै यसमाथि निष्पक्ष र विश्वसनीय छानबिन अब अपरिहार्य बनिसकेको उल्लेख गरिन्। उनले संसद्‌मा अर्थमन्त्री उपस्थित भएर स्पष्टीकरण दिनु मात्रै पर्याप्त नहुने जनाइन्।

ओलीले भनिन्, “करका दर संशोधनको विषय यति गम्भीर भइसकेको छ कि अब निष्पक्ष छानबिन बिना यो विषय टुङ्गोमा पुग्न सक्दैन। त्यसैले छानबिन प्रक्रिया पूर्ण रूपमा सम्पन्न नहुँदासम्म अर्थमन्त्रीज्यूले आफ्नै विवेक प्रयोग गरेर, सुशासन कायम गर्नका लागि तथा नैतिकता र निष्पक्षताको दृष्टिकोणले उहाँ तत्काल आफ्नो जिम्मेवारीबाट पर रहनुपर्छ, उहाँले मार्गप्रशस्त गर्नुपर्छ।”

राप्रपाले यो विषयलाई संसद्‌मा जोडदार रूपमा उठाउने संकेत गरेसँगै आगामी बैठकहरूमा बजेट र करका दरको विषयलाई लिएर बहस थप पेचिलो बन्ने देखिएको छ।

छुटाउनुभयो कि ?