हर्मुज नजिक अमेरिकी हेलिकप्टर दुर्घटना, पाइलट सुरक्षित

हर्मुज नजिक अमेरिकी  हेलिकप्टर दुर्घटना,  पाइलट सुरक्षित

काठमाडाैं । मध्यपूर्वमा इरान र इजरायलबीच बढेको तीव्र तनावका बीच रणनीतिक रूपमा अत्यन्तै संवेदनशील मानिने हर्मुज जलघाँटी नजिकै अमेरिकी सेनाको एक शक्तिशाली ‘अपाचे’ लडाकु हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ।

मंगलबार बिहान भएको यस दुर्घटनामा परेका हेलिकप्टरका दुवै पाइलटहरू भने पूर्ण रूपमा सुरक्षित रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुष्टि गरेका छन्।

अमेरिकी सेनाको केन्द्रीय कमान्ड र रक्षा मन्त्रालयले घटनाबारे तत्काल विस्तृत विवरण नदिए पनि तीब्र रूपमा उद्धार टोली परिचालन गरी चालक दलका सदस्यहरूलाई सकुशल उद्धार गरिएको जनाइएको छ।

यो दुर्घटना इरान र इजरायलबीच अघिल्लो दिन मात्रै भएको भिषण गोलीबारी र क्षेप्यास्त्र प्रहारपछि उत्पन्न चरम संवेदनशील परिस्थितिबीच भएको हो।

मध्यपूर्वमा इजरायल र संयुक्त राज्य अमेरिकाले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेयता यो क्षेत्रमा युद्धको राँको दन्किँदै गएको छ, जसका कारण विश्व ऊर्जा आपूर्ति अवरुद्ध भएको छ भने अन्तर्राष्ट्रिय बजारमा तेल तथा खाद्य वस्तुको मूल्य आकासिएर आर्थिक अस्थिरता फैलिएको छ।

पछिल्ला महिनामा घोषणा गरिएका अस्थायी युद्धविरामहरूलाई दीर्घकालीन शान्ति सम्झौतामा रूपान्तरण गर्ने प्रयास भइरहे पनि यस दुर्घटनाले दुवै पक्षबीचको युद्धविराम कति कमजोर र जोखिमपूर्ण अवस्थामा छ भन्ने स्पष्ट पारेको विश्लेषकहरूले बताएका छन्।

इरानको राज्य सञ्चारमाध्यमले पनि विदेशी सञ्चारमाध्यमलाई उद्धृत गर्दै आफ्नो नियन्त्रण क्षेत्र नजिक भएको यस दुर्घटनाको पुष्टि गरेको छ, यद्यपि यसबारे विस्तृत टिप्पणी गर्न भने अस्वीकार गरेको छ।

घटना भएको समयमा राष्ट्रपति डोनाल्ड ट्रम्प न्युयोर्कस्थित जोन एफ. केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा एनबीए फाइनल खेल हेरेपछि वासिङ्टन फर्कने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गरिरहेका थिए।

उनले विमानस्थलको धावनमार्गमै सञ्चारकर्मीहरूलाई दुर्घटनाबारे प्रारम्भिक जानकारी दिँदै भने, “पाइलटहरू पूर्ण रूपमा ठीक छन् र कोही पनि घाइते भएका छैनन्, हामी यस घटनाको सम्बन्धमा भोलिसम्ममा विस्तृत आधिकारिक प्रतिवेदन सार्वजनिक गर्नेछौं।” घ

टनाबारे पहिलो पटक समाचार सार्वजनिक गरेको न्युयोर्क टाइम्सका अनुसार अमेरिकी सेनाको यो एएच-६४ (AH-64) अपाचे हेलिकप्टर इरानी पक्षको आक्रमण, प्राविधिक गढबढी वा अन्य कुनै परिचालन त्रुटिका कारण खसेको हो भन्नेबारे अनुसन्धान सुरु भइसकेको छ।

विश्लेषकहरूका अनुसार इन्धन ढुवानीका लागि विश्वकै मुख्य मार्ग मानिने हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी सेनाले आफ्नो उपस्थिति बलियो बनाइरहेका बेला भएको यो सैन्य क्षतिले क्षेत्रीय सुरक्षा समीकरणलाई थप पेचिलो बनाउन सक्ने देखिन्छ।

छुटाउनुभयो कि ?