काठमाडौं– गृहमन्त्री सुदन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलबाट दुवै मन्त्रीले सपथ लिएका हुन्।
प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार नै पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुदन गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति पौडेल समक्ष सिफारिस गरेका थिए।
यसअघि सम्पत्ति विवरणसम्बन्धी विषयमा प्रश्न उठेपछि गुरुङले नैतिक जिम्मेवारी लिँदै गृहमन्त्री पदबाट राजीनामा दिनुभएको थियो। त्यसलगत्तै सरकारले उक्त विवादित विषयमा सत्यतथ्य पत्ता लगाउन एक छानबिन समिति गठन गरेको थियो। उक्त छानबिन समितिले गत शुक्रबार आफ्नो विस्तृत प्रतिवेदन प्रधानमन्त्री शाहलाई बुझाएको थियो।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदनलाई स्वीकृत गरेसँगै गुरुङलाई क्लिन चिट दिँदै पुनः गृहमन्त्रीमा नियुक्त गर्ने निर्णय गरेको हो। सरकारको यो नयाँ निर्णयसँगै गुरुङले दोस्रो पटक गृहमन्त्रालयको कमान्ड सम्हाल्ने अवसर पाएका छन्।
त्यसैगरी, प्रविधिको क्षेत्रमा लामो समयदेखि क्रियाशील सांसद महावीर पुनले पनि सरकारले राखेको प्रस्तावलाई स्वीकार गर्दै विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीका रूपमा सपथ लिनुभएको छ। दुई मन्त्रीको थपिएसँगै मन्त्रिपरिषद्ले नयाँ पूर्णता पाएको छ र दुवैले आजैदेखि आफ्नो कार्यभार सम्हाल्ने बुझिएको छ।