सशस्त्र प्रहरीको गोली लागेर सफारी चालकको मृत्यु

सशस्त्र प्रहरीको गोली लागेर सफारी चालकको मृत्यु

विराटनगर। सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीले चलाएको गोली लागेर सिटी सफारीका चालकको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल (एपीएफ)को टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको हो।

मृतक साह स्थानीय भएको सुनसरी प्रहरी प्रवक्ता चन्द्रबहादुर खड्काले जानकारी दिए। साहले सिटी सफारीमा ८–१० बोरा चिनी लोड गरेर भारतबाट नेपालतर्फ ल्याउँदै थिए ।

सोही क्रममा गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीले उनलाई गोली प्रहार गरेको हो। मालसामान ओसारपसारको विषयलाई लिएर प्रहरी र साहबीच केही समय विवाद भएको थियो । विवाद बढ्दै जाँदा प्रहरीले गोली चलाएको र साहको घटनास्थलमै मृत्यु भएको दाबी गरिएको छ।

साहको मृत्युपछि आक्रोशित भिडले शव उठाउन दिएको छैन । डिएसपी खड्काले स्थानीयसँग वार्ता भइरहेको बताए ।