तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडाैं। देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू-भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

अहिले तराईका अधिकांश स्थानहरू हुस्सुले ढाकिएका छन्।  महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भएको छ भने लुम्बिनी प्रदेशसहित कर्णाली, सुदूरपश्चिम तथा बाँकी उच्च पहाडी र हिमाली भू-भागमा पनि आंशिक बदली हुने अनुमान गरिएको छ। 

यसैगरी, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ। 

आज राति तराई भू-भागका केही स्थानहरूमा हुस्सु कायमै रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशसहित उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली रहनेछ भने बाँकी भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। साथै  कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने छ।

मौसम पूर्वानुमान महाशाखाले तराई क्षेत्रमा हुस्सुको प्रभावका कारण दैनिक जनजीवन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक असर पर्न सक्ने चेतावनी दिएको छ। महाशाखाले आवश्यक सतर्कता अपनाउन तथा दैनिक रूपमा जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन सर्वसाधारणलाई अनुरोध गरेको छ।