बालेन-रविसँग वार्तामा रहेका बाबुराम बालेन-रवि मिल्दा किन माैन?

बालेन-रविसँग वार्तामा रहेका बाबुराम बालेन-रवि मिल्दा किन माैन?

काठमाडौं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ र वैकल्पिक शक्तिहरु एक हुनुपर्ने आवाज उठाउँदै आएका छन् । योबीचमा उनले रास्वपाका सभापति रवि लामिछाने र काठमाडौं महानगरका प्रमुख बालेन शाहसँग पनि तारन्तार छलफल गरेका थिए । बालेनले पछिल्ला दिनमा संसदीय राजनीतिमा आउने भनेर बढाएको आकस्मिक सक्रियता र भेटवार्तामा थुप्रै नेताहरुसँग छलफल भएको थियो । बालेनलाई भेट्नको लागि बाबुराम पनि कुपण्डोल पुगेका थिए ।

उनले नयाँ र वैकल्पिक शक्तिहरु एक हुनुपर्ने आफ्नो एजेण्डा रहेको भन्दै सबै मिलेर जानुपर्ने प्रतिक्रिया दिएका थिए । भर्खरै बालेन र रविबीच एकताबद्ध भएर जाने सहमति भइसकेको छ । तर, बाबुरामले भने उनीहरुको सहमतिबारे कुनै प्रतिक्रिया दिएका छैनन् । प्रायः सामाजिक सञ्जालमा सक्रिय रहने बाबुरामले अहिलेसम्म रवि र बालेनबीचको सहमतिलाई लिएर आफ्ना सामाजिक सञ्जालमा कुनै धारणा राखिसकेका छैनन् ।

यद्धपी उनले आफू सक्रिय राजनीतिमा नरहेको बताउने गरेका छन् । उनकै पहलमा सुरु भएको प्रगतिशील लोकतान्त्रिक पार्टीमा पनि उनी अभिभावकीय भूमिकामा सिमित भएका छन् । एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीका नेताहरुले बालेन र रविबीचको सहमतिलाई लिएर आफ्नो धारणा राखिरहेका छन् ।

तर, बाबुरामले भने यो विषयमा नबोल्नुलाई अनौठो रुपमा लिईएको छ । बरु, हिजो साँझ बाबुराम र जनार्दन शर्मा संरक्षकको भूमिकामा रहेको प्रलोपा र कुलमानको संरक्षणमा रहेको उज्यालो नेपाल पार्टीबीच चुनावी सहकार्य गर्नेबारे छलफल हुने भनिएको थियो । तर, कुलमानको प्राथमिकतमा प्रलोपा नभएर रवि र बालेन परेपछि हिजोको लागि तय भएको वार्तासमेत सारिएको छ । उनीहरु आज पुनः छलफलमा बस्ने भनिएको छ ।