कोरोनाका कारण भारतमा पहिलो पटक एक जनाको मृत्यु

काठमाडौँ : भारतमा कोरोना भाइरसको संक्रमणबाट पहिलो पटक एक जनाको मृत्यु भएको छ । कर्नाटक राज्यमा कोरोना संक्रमणको आशंका गरिएका एक जनाको बुधबार मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

कर्नाटकमा एक ६९ वर्षीय व्यक्तिको मृत्यु भएको जनाइएको छ । भारतको कर्नाटक राज्य सरकारले कोरना भाइरस महामारी घोषणा गरेको छ। बुधबार कर्नाटकले कोरोना भाइरसको महामारी घोषणा गरेको भारतीय समाचार माध्यमले जनाएका हुन् ।

कर्नाटक राज्यमा सबै विद्यालय बन्द भइसकेका छन् । परीक्षाका कार्यक्रम पनि सारिएको छ। भने हाम मिलाउनुको सट्टा नमस्ते अभियान समेत चलाइएको छ । कर्नाटकका स्वास्थ्य मन्त्रीले १ लाखभन्दा बढी मानिसमा कोरोनाको परीक्षण गरिए पनि ६ सय मानिसमा मात्र संक्रमण हुन सक्ने आशंका गरिएको बताएका छन् । भारतमा हालसम्म ६२ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

यसैबीच भारत सरकारले अप्रिल १५ सम्मका लागि अत्यावश्यक बाहेकका सबै भिसा रद्द गरेको छ । विश्वव्यापी रूपमा फैलिइरहेको कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि भन्दै भारत सरकारले अप्रिल १५ सम्मका सबै भिसा रद्द गर्ने निर्णय गरेको हो । बुधबार स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले विज्ञप्ति जारी गर्दै अत्यावश्यक बाहेकका सबै भिसा रद्द गर्ने निर्णय भएको गरेको छ ।

‘कूटनीतिक, कार्यालयीय, संयुक्त राष्ट्र संघ तथा अन्तर्रा्ष्ट्रिय निकाय, रोजगारी, प्रोजेक्ट भिसाबाहेक हाल जारी भएका सबै भिसा अप्रिल १५ सम्मका लागि रद्द गर्ने निर्णय भएको छ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।