विश्वभर फैलियो कोरोनाको संक्रमण, इटालीमा एकैदिन १९६ को मृत्यु

विश्वभर फैलियो कोरोनाको संक्रमण, इटालीमा एकैदिन १९६ को मृत्यु

काठमाडौ : विश्वव्यापी रूपमा फैलिइरहेको नोबल कोरोना (कोभिड–१९) संक्रमितको संख्या युरोप र अमेरिकामा ह्वात्तै बढेको छ । युरोपेली देशहरू इटाली, जर्मनी, बेलायत र फ्रान्स सबैभन्दा बढी प्रभावित भएका छन् ।
कोभिड–१९ का कारण इटालीमा हालसम्म ८ सय २७ जनाको ज्यान गइसकेको छ भने १२ हजार ४ सय ६२ जनामा संक्रमण पुष्टि भएको छ । इटालीमा बुधबार मात्रै थप १९६ जनाको मृत्यु भएको छ भने २ हजार ३ सय १३ जनामा संक्रमण देखिएको छ । संक्रमण अनियन्त्रित भएसँगै तीन दिनयता इटालीले सबै सीमा बन्द गरिसकेको छ ।

चीनपछि सबैभन्दा बढी मृत्यु इटालीमा भएको छ । जर्मन चान्सलर एन्जेला मर्केलले ५ करोड ८० लाख मानिस कोभिड–१९ को संक्रमणको जोखिममा रहेको बताएकी छन् । उक्त संख्या देशको जनसंख्याको करिब ७० प्रतिशत हो । स्पेनमा हालसम्म २ हजार २ सय ७७ र फ्रान्समा २ हजार २ सय ८१ जना संक्रमित भइसकेका छन् । बिहीबार बिहानसम्म स्पेनमा ५५ र फ्रान्समा ४८ जनाको मृत्यु भएको छ ।

अमेरिकामा संक्रमितको संख्या १ हजार ३ सय १२ पुगेको छ भने ३८ जनाले ज्यान गुमाएका छन् । अधिकारीका अनुसार वासिङ्टन, न्युयोर्क, क्यालिफोर्नियालगायत सहरमा कोभिड–१९ को संक्रमण पुष्टि भएको हो ।

न्युयोर्कका गभर्नर एन्ड्रियु कोउमोले निकै प्रभावित भएकाले सहरको उत्तरी क्षेत्रमा सार्वजनिक कार्यक्रममाथि प्रतिबन्ध लगाइएको जनाएका छन् । उनले न्यु रोसल क्षेत्रमा सम्भवतः अमेरिकाकै धेरै संक्रमित रहेका जनाउँदै नेसनल गार्डलाई परिचानल गरिएको जनाए । उनीहरूले विद्यालय, अस्पताल, सपिङ मललगायत सार्वाजनिक स्थलहरूको सफाइ गर्ने छन् ।

अस्ट्रेलियामा हालसम्म संक्रमितको संख्या १ सय २७ पुगेको छ । स्वास्थ्य विभागका अनुसार ३ जनाको मृत्यु भइसकेको छ । प्रधानमन्त्री स्कट मरिसनले कोभिड–१९ को नियन्त्रण र उपचारका लागि १।५५ अर्ब अमेरिकी डलर रकम छुट्याइएको घोषणा गरेका छन् ।

दक्षिण कोरियामा संक्रमितको संख्या ७ हजार ८ सय ६९ पुगेको छ । हालसम्म ६६ जनाको ज्यान गइसकेको छ । स्वास्थ्य अधिकारीका अनुसार उपचारपछि निको भएका ४१ जना घर फर्किसकेका छन् । त्यसैगरी, जापानमा पनि कोभिड–१९ का कारण मृत्यु हुने र संक्रमितको संख्या बढेको छ । जापानको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १ हजार ३ सय ४८ जनाको संक्रमण पुष्टि भएको छ भने २२ जनाले ज्यान गुमाएका छन् ।

कोभिड–१९ को संक्रमण सुरु भएको भनिएको चीनमा भने नयाँ बिरामी घटेका छन् । अधिकारीका अनुसार बुधबार २४ जना मात्र नयाँ बिरामी थपिए भने थप २२ जनाको मृत्यु भयो । चीनमा हालसम्म ८० हजार ९ सय ६७ जनामा संक्रमण देखिएको छ भने ३ हजार १ सय ३६ जनाले ज्यान गुमाइसकेका छन् । कोभिड–१९ का कारण कम्तीमा ३ सय ५४ इरानीले ज्यान गुमाइसकेका छन् भने ९ हजारमा संक्रमित भएका छन् ।

त्यस्तै बेलायतमा ८, इराकमा ७, नेदरल्यान्ड्समा ५, स्विजरल्यान्डमा ४, जर्मनी, बेल्जियम, अस्ट्रेलिया र हङकङमा ३र३ जना, सान मारिनो, लेबनान र फिलिपिन्समा २र२ जना तथा स्विडेन, क्यानडा, इजिप्ट, थाइल्यान्ड, ताइवान, इन्डोनेसिया, अर्जेन्टिना, अल्बानिया, पानामा, बुल्गेरिया र मोरक्कोमा १र१ जनाको मृत्यु भएको छ ।