पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा: साक्षी पेश गर्न आदेश

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा: साक्षी पेश गर्न आदेश

काठमाडौँ: पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का संयोजक माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार प्रकरणमा विशेष अदालतले साक्षी पेश गर्न आदेश जारी गरेको छ।

विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले सुनुवाइ गर्दै नेपालसहित अन्य प्रतिवादीहरूको साक्षी भौतिकरूपमा वा भिडियो कन्फ्रेन्समार्फत् उपस्थित गराइ वकपत्रको लागि इजलासमा पेश गर्न निर्देशन दिएको हो।

साथै, मुद्दासँग सम्बन्धित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको निर्णयसहितको फाइल पनि अदालतमा पेश गर्न आदेश दिइएको छ।

यो प्रकरण पतञ्जली जग्गा हिनामिना प्रकरणसँग सम्बन्धित छ। अख्तियारले यसमा माधवकुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

२०६६ माघ १८ नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले पतञ्जलीलाई आयुर्वेदिक विश्वविद्यालय सञ्चालनका लागि काभ्रेमा ८१५ रोपनी जग्गा हदबन्दी छुटमा खरिद गर्न स्वीकृति दिएको थियो।

त्यसपछि, पतञ्जलीले बनेपा नगरपालिकाभित्रका साविकका साँगा, नासिकास्थान र महेन्द्र ज्योति गाविसमा ५९३ रोपनीभन्दा बढी जग्गा खरिद गरेको थियो।त्यसैअनुसार मन्त्रिपरिषद्ले निर्णय गरेर हदबन्दी छुटमा ३५३ रोपनी १५ आना जग्गा काष्ठमण्डप बिजनेस होम्स प्रालिलाई बिक्री गरेको थियो।

सरकारी छानबिन समितिको प्रतिवेदनले पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीको उद्योग सञ्चालनका लागि हदबन्दी छुटमा किनेको जग्गा अपचलन भएको ठहर गरेको छ।