राजनीतिमा एमालेका तीन दाउ

राजनीतिमा एमालेका  तीन  दाउ

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले) ‘एउटै तीरले तीन सिकार गर्ने’ लक्ष्यका साथ राजनीतिक मैदानमा होमिएको छ ।

एमाले निर्वाचनमा सहभागी हुुने, मौका पाए संसद् पुनस्र्थापना गरेर पुनः सत्तामा फर्कने र महाधिवेशनका नाममा देशभरका कार्यकर्ता परिचालन गरेर पुनः शक्ति सञ्चय गर्ने रणनीतिसहित राजनीतिक मैदानमा देखिन थालेको हो ।

एमालेको यस राजनीतिलाई राजनीतिक विश्लेषकदेखि विपक्षी दलहरूले समेत राजनीतिक चतु-याइँका रूपमा बुझेका छन् ।

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि एमालेले मंगलबार निर्वाचन आयोगमा दल दर्ता गराइसकेको छ ।

निर्वाचन आयोगमा दल दर्ता गराएकै दिन पूर्वनिर्णयअनुसार सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनस्र्थापना माग्दै रिट निवेदनसमेत पेस गरेको छ ।

रिट विचाराधीन रहेका कारण मंगलबार दर्ता भने नभएको सर्वोच्च अदालत प्रशासनको भनाइ छ । रिटमा प्रतिनिधिसभा विघटन र सुशीला कार्की नेतृत्वको सरकार गठन असंवैधानिक भएको दाबी छ ।

निर्वाचन र संसद् पुनस्र्थापनाको एजेन्डालाई समानान्तर अघि बढाएको एमालेले निर्वाचनकेन्द्रित गतिविधिलाई समेत वडा तहसम्म पु¥याएको छ ।

११औं महाधिवेशनको प्रतिनिधि छनोटका नाममा एमाले यतिबेला वडा तहसम्म संगठन विस्तार र सुदृढीकरणमा जुटेको छ । जेनजी आन्दोलनपछि नेपाली कांग्रेस महाधिवेशनको विवादमा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी ‘अन्य दल फुटाउने आफ्नो पार्टीमा मिसाउने’ अभियानमा केन्द्रित छन् ।

एमाले भने यही मौकामा जनस्तरसम्म पुग्न आमसभा, बैठक र प्रतिनिधि छनोटमा व्यस्त छ । निर्वाचन हुने वातावरण नबनेको र वर्तमान सरकारले निर्वाचन गराउनै नसक्ने अडानसहित एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूले निर्वाचनमा सहभागी नहुने अभिव्यक्ति दिँदै आएका छन् । तर, अब निर्वाचन आयोगमा दल दर्ता गराएपछि निर्वाचनमा सहभागी हुने निश्चित भएको सन्देश जनतामाझ लैजाने प्रयासमा एमाले जुटेको छ ।

मंगलबार सञ्चारमन्त्रीले एक सार्वजनिक कार्यक्रममै एमालेले समेत दल दर्ता गरेकाले अब सबै दल निर्वाचनका लागि तयार भएको अभिव्यक्ति नै दिए । एमाले केन्द्रीय निर्वाचन विभागका प्रमुख निरज आचार्यसहितका नेताहरूले निर्वाचन आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिएका हुन् । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि हालसम्म ६७ वटा राजनीतिक दलले निर्वाचनमा भाग लिन दल दर्ताका लागि निवेदन दिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।