काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सभापति शेरबहादुर देउवाकै हस्ताक्षरबाट आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभाको चुनाव लड्न नसकिने बताएका छन् । महामन्त्री थापाले अब विधानबमोजिम समयमै विशेष महाधिवेशन हुने र नयाँ सभापतिको हस्ताक्षरसहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जाने बताएका हुन् । कांग्रेसले अबको चुनाव नयाँ नीति र नेतृत्वसहित लड्ने उनको भनाइ छ ।
‘विहानदेखि धेरै साथीहरूले सोधिरहनुभएको छ ‘पार्टीले वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो ?
मैले भने– होइन। साथीहरूले फेरी सोध्नुभयो– कसरी ? मैले भनेः प्रष्ट छ–अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ। त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ। नयाँ सभापतिको हस्ताक्षरसहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ। नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ,’ महामन्त्री थापाले भनेका छन् ।
विशेष महाधिवेशनको विकल्प नरहेको बताउँदै उनले अलमलमा नपर्न आग्रहसमेत गरेका छन् । उनले भनेका छन्, ‘यही कारण हो हामीले निर्वाचन अगाडि नै महाधिवेशन भनेको। अब विशेष महाधिवेशनको विकल्प छैन। कुरा स्पष्ट छ, अलमलमा नपरौं।’