काठमाडौं। पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपालको राजनीतिमै पुनःसंरचना नभएसम्म विश्वसँग जोडिएर जान नसक्ने बताएका छन्।
आज काठमाडौंमा आयोजित प्रगतिशील लोकतान्त्रिक पार्टी बृहत् एकता घोषणा सभामा उनले विश्वसँग जोडिएर जान ‘जेन-जी’ पुस्ताले उठाएका माग सम्बोधन गरेर अघि बढ्नुपर्नेमा जोड दिए।
देश अझै पनि सहज बाटोमा नहिँडेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले सहज अवस्था बनाउन सबैले सहयोग गर्नुपर्ने आवश्यकता औंल्याए।
उनले व्यक्तिको निजत्व र सामाजिक पक्ष दुवैलाई मिलाएर नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टी अघि बढ्नुपर्ने बताए। उक्त पार्टीका अगुवा नेता रहेका डा भट्टराईले नयाँ दलमा आफू अभिभावक भएर बस्ने र कार्यकारी भूमिकामा रहनेलाई सहयोग तथा सुझाव दिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा पूर्वमन्त्री जनार्दन शर्माले दलको प्रतिबद्धता पत्र सुनाएका थिए। प्रतिबद्धता पत्रमा देशको कार्यकारी प्रमुख मातहत राष्ट्रिय विकास प्राधिकरण गठन गरिने, भ्रष्टाचारविरुद्ध महाअभियान चलाइने, बोली र व्यवहारमा एकरुपता हुनेलगायत विषय समेटिएको उनले जानकारी गराए।
पार्टी घोषणा सभाको अध्यक्षता गरेका नेता सन्तोष परियारले दलले नयाँ गतिका साथ काम गर्न चाहनेलाई समेटेर अघि बढ्ने बताए।