काठमाडौं। आइसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा आज भएको दोस्रो खेलमा नेपाल युएइसँग पराजित भएको छ। घरेलु टोलीसँग नेपाल ५ विकेटले पराजित भएको हो।
नेपालले जितका लागि दिएको २३४ रनको लक्ष्य युएइले ४३.३ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो। युएइका लागि आर्यंश शर्माले सर्वाधिक ९८ रन बनाए। उनले ९८ बलमा १० चौका र ३ छक्का प्रहार गरे।
यस्तै आलिशान शराफुले ४५ तथा मुहम्मद वासिमले २६ रन बनाए। नेपालका लागि सन्दीप लामिछानेले २ विकेट लिए भने करण केसी र दीपेन्द्र सिंह ऐरीले एक एक विकेट लिए।
यसअघि आईसीसी एकेडमी दुबईमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनाएको थियो।
नेपालका लागि कप्तान रोहित पौडेलले १३० बलमा पाँच चौका र दुई छक्काको मद्दतले सर्वाधिक १०९ रनको योगदान दिए। आसिफ शेखले ३५, आरिफ शेखले २७, दीपेन्द्रसिंह ऐरीले २३ र करण केसीले १३ रन बनाए।
युएईका लागि जाहिद अलीले चार विकेट लिए भने जुनैद सिद्धिकीले तीन, मोहम्मद रोहिद र हैदर अलीले समान एक÷एक विकेट लिए।