साम्बा चम्किएपछि नेपालद्वारा भारत पराजित

साम्बा चम्किएपछि नेपालद्वारा भारत पराजित

काठमाडौं। ट्राई नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबलको दोस्रो खेलमा नेपालले भारतलाई पराजित गरेको छ।

कप्तान सावित्रा भण्डारी साम्बाको दुई गोल मद्तमा नेपालले भारतलाई २–१ ले पराजित गरेको हो ।

भारतको शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा सावित्राले खेलको दोस्रो मिनेटमै गोल गरी नेपाललाई अग्रता दिलाएकी थिइन् ।

विमला विकले मैदानको आफ्नै भागबाट दिएको लामो पासमा सावित्राले भारतीय डिफेण्डरलाई पछि पार्दै गोल गरेकी हुन् ।

सावित्राले नै ६२औं मिनेटमा फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । घरेलु टोली भारतले ८१औं मिनेटमा गोल फर्कायो । भारतका लागि कृष्मा श्रीरभोइकारले गोल गरिन् ।

ट्राईनेसन्स कपमा इरानले भारत र नेपाललाई हराएर यसअघि नै उपाधि जितेपछि यो खेल प्रतिष्ठाको लडाईँको रुपमा रहेको थियो । जहाँ नेपालले भारतलाई उसैको मैदानमा हराउन सफल भयो ।

भारत विरुद्ध जितमा फेरि एकपटक सावित्रा नै नायक रहिन् । उनले भारत विरुद्ध अहिलेसम्म १० गोल गरिसकेकी छिन् । समग्रमा भने सावित्राले नेपालका लागि ६८ गोल पुर्‍याएकी छिन् ।

पहिलो खेलमा नेपाल इरानसँग ३–० ले पराजित भएको थियो । त्यसअघि भारत इरानसँग २(० ले पराजित भएको थियो । नेपाली टोली उपाधि जित्ने लक्ष्य लिएर शिलोङ पुगेपनि पहिलो खेलमै पराजित भएपछि सम्भावना सकिएको थियो ।

पछिल्लो समयम महिला फुटबलमा भारत विरुद्ध नेपालले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । भारत विरुद्धको नेपालको यो चौथो जित हो । यसअघि नेपालले सन् २०१९ मा भारतमै भएको हिरो गोल्डकपमा पहिलो पटक भारतलाई पराजित गरेको थियो । भारतलाई उसैको मैदानमा नेपालले दोस्रो पटक पराजित गरेको हो ।

यस्तै काठमाडौंसमा सन् २०२२ र २०२४ मा भएको साफ महिला च्याम्पियनसिपमा पनि नेपालले भारतलाई पराजित गरेको थियो । यो जितसहित पछिल्लो पाँच खेलमा नेपालले भारतसँग अपराजित छ ।

भारत विरुद्धको खेलबाट युवा फरवार्ड मिना देउवाले पनि नेपालको सिनियर महिला टिमबाट डेब्यु गरेकी छिन् । नेपाल यू१९ महिला टिमकी फरवार्ड उनले उनले ७६औं मिनेटमा रेखा पौडेलको स्थानमा मैदान प्रवेश गर्दै राष्ट्रिय टिमबाट डेब्यु गरेकी हुन् ।

यस्तै मुख्य प्रशिक्षक नविन न्यौपानेले पनि महिला टिमको प्रशिक्षकको रुपमा पहिलो जित आत्मसाथ गरेका छन् ।