अरनिको राजमार्गमा राति सवारी सञ्चालनमा रोक

अरनिको राजमार्गमा राति सवारी सञ्चालनमा रोक

रामेछाप। जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म नेपालका विभिन्न भूभागमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले उच्च सतर्कता अपनाउने निर्णय गरेको छ।

जिल्लामा बाढी, पहिरो, डुबान र चट्याङजस्ता विपद् जोखिम बढ्ने भएकाले जिल्ला सुरक्षा समितिको बैठकले आवश्यक पूर्वतयारी र प्रतिकार्यका लागि विभिन्न निर्णय गरेको हो।

निर्णयअनुसार असोज १७ गतेदेखि २० गतेसम्म अरनिको राजमार्ग लगायत जिल्लका मुख्य र सहायक राजमार्गमा राति ७ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ।

दमकल, एम्बुलेन्सजस्ता अत्यावश्यक सेवाका सवारी भने सञ्चालन हुने छन्। वर्षाको मात्रा, क्षति वा अन्य जोखिमको अवस्था अनुसार सुरक्षा निकायले अन्य समयमा पनि आकस्मिक रूपमा राजमार्ग बन्द गर्न सक्ने निर्णय भएको छ।

बैठकले नदी किनार र जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा सार्न नजिकका सुरक्षा युनिटलाई निर्देशन दिएको छ। उद्धार तथा राहत कार्यका लागि नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक शाखा, उद्योग वाणिज्य संघ, चौतारा अस्पतालसहितका सरोकारवाला संस्थाहरुलाई तयारी अवस्थामा रहन भनिएको छ।

रेडक्रसका सबै शाखा तथा स्वयंसेवकलाई परिचालन गर्ने, उद्योग वाणिज्य संघले आवश्यक राहत सामग्री जुटाउने, चौतारा अस्पतालले आकस्मिक उपचारका लागि स्रोत साधन तयारी अवस्थामा राख्ने निर्णयसमेत बैठकले गरेको छ।

जिल्लाभित्र सडक अवरुद्ध भएमा तत्कालै सडक डिभिजन, पूर्वाधार कार्यालय, स्थानीय तह तथा निजी क्षेत्रसँग समन्वय गरेर हेभी इक्विपमेन्ट परिचालन गरी सडक सुचारु गरिने व्यवस्था मिलाइनेछ। त्यस्तै, जिल्लामा उपलब्ध दमकल, एम्बुलेन्स र हेभी इक्विपमेन्ट चालकसहित २४ घण्टा तयारी अवस्थामा राख्ने पनि बैठकले निर्णय गरेको छ।

सुरक्षा समिति बैठकले विपद् पूर्वतयारी र प्रतिकार्यमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुने भन्दै सबै स्थानीय तहलाई आपतकालीन कार्यसञ्चालन केन्द्र पूर्ण परिचालन गर्न, स्वयम्सेवक र स्रोत साधन तत्पर अवस्थामा राख्न र तत्काल उद्धार तथा राहतका लागि सक्रिय रहन अनुरोध गरेको छ।

यस्तै, जरुरी परेमा उद्धारका लागि सिन्धु–सुकुटे क्षेत्रमा रहेका राफ्टिङ व्यवसायीहरूको बोट, कायाक र तिनका चालकसमेत सुरक्षा निकायसँग समन्वय गरी परिचालन गर्ने व्यवस्था मिलाइने भएको छ।