मुग्लिन–नारायणगढ सडकमा ठूलाे पहिराे, तत्काल नखुल्ने

मुग्लिन–नारायणगढ सडकमा ठूलाे पहिराे, तत्काल नखुल्ने

काठमाडाैं। मुग्लिन–नारायणघाट सडक फेरि बन्द भएको छ । चितवनको तुइनखोला पुल नजिकै निरन्तर पहिरो खसेको र दिउँसो १ बजेदेखि नै आवतजावत दुईतर्फी नै बन्द भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

निरन्तर ढुङ्गा झरेका कारण उपकरण सञ्चालन गरी पहिरो हटाउन समस्या भएको कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यका अनुसार दिउँसोको पहिरो ठूलो थिएन तर अर्को ठूलो पहिरो थपिएको छ । ढुङ्गा झर्न नरोकिँदा पहिरो हटाउने काम शुरू भएको छैन ।

तुइनखोलामा यसअघि शुक्रवार बेलुकाको पहिरो झन्डै ४६ घण्टापछि पन्छाएर आइतवार दिउँसो एकतर्फी सडक खुलेको थियो । हिजो सोमवार दुईतर्फी नै बाटो खुलेकोमा बेलाबेला सडकमाथिबाट ढुङ्गासहितको पहिरो खस्ने क्रम रोकिएको छैन । याे सडक जाेखिमपूर्ण छ ।

डिभिजन कार्यालयले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ । मुग्लिन–नारायणघाटको विकल्पमा नौबीसे–दामन–हेटौँडा र कालीगण्डकी करिडोरको मुग्लिन–भीमाद–डेढगाउँ–गैंडाकोट सडक प्रयोग गर्न सकिनेछ ।