काठमाडौं। दशैं लागेसँगै काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुको संख्या बढ्न थालेको छ। २४ घण्टाको अवधिमा ४३ हजार यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ।
ट्राफिक प्रहरी प्रवक्ता लोकेन्द्र सिंह गुरुका अनुसार आइतबार बिहान ६ बजेदेखि सोमबार बिहान ६ बजेको अवधिमा ४३ हजार यात्रु काठमाडौंबाट बाहिरिएका छन् । यो अवधिमा २८ हजार यात्रु काठमाडौं भित्रिएका छन्।
आज दशैंको घटस्थापनाको दिनदेखि यात्रुहरु बाहिरिने क्रम थप बढ्ने अनुमान छ। कतिपय निजी कार्यालय, कलेज र विद्यालयहरुमा दशैं बिदा भइसकेकाले दशैं मनाउन गाउँ फर्किनेहरुको संख्या बढ्ने अनुमान गरिएको हो । दशैंको सरकारी बिदा भने फूलपातीको दिनदेखि सुरु हुन्छ।
गत भदौ २३ र २४ गते जेनजी युवाहरुको आन्दोलनपछि सुरक्षा वातावरण सामान्य बन्दै गएदेखि नै काठमाडौं छाड्नेक्रम बढेको थियो । आजबाट दशैं नै सुरु भइसकेकाले यो संख्या थप बढ्ने छ।
ट्राफिक प्रहरी कार्यालयका अनुसार अहिलेसम्म बसपार्क र काठमाडौंका नाकाहरुमा अवस्था सामान्य छ। नारायणगढ–मुग्लिन सडकखण्डमा झरेको पहिरोले ४० घण्टासम्म सडक अवरुद्ध हुँदा सवारी साधनहरुको चाप भने सडकमा परेको छ । नारायणगढ–मुग्लिन सडकखण्ड खुलिसकेकाले अब विस्तारै सामान्य हुँदै जाने ट्राफिक प्रहरी कार्यालयका अधिकारीहरुको विश्वास छ।