काठमाडौं । काठमाडौं जिल्ला अदालतमा रहेका फाँटहरूमध्ये सबैभन्दा संवेदनशील फाँट हो, फाँट नम्बर ९ र फाँट नम्बर १३ । यी दुवै फाँटहरूमा धेरै प्रतिवादी रहेको, जटिल प्रकृतिका मुद्दा भएको र धेरै समय लाग्ने मुद्दाका मिसिलहरू रहन्छन् ।
यी दुई फाँटहरूमध्ये फाँट नम्बर १३ मा थियो बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा । हाई प्रोफाइलहरू जोडिएको यो मुद्दा करिब करिब अंग पुगेर सुनुवाइको अन्तिम अवस्थामा आइपुगेको थियो।
तर यही फाँटमा भदौ २४ गते मंगलबार आगजनी भयो ।
सुरुमा काठमाडौं जिल्ला अदालतको अन्डरग्राउन्डमा रहेको अभिलेख शाखामा आगजनी गरियो । उक्त शाखामा विक्रम संवत् १९९९ सालदेखि २०३० सालसम्म र २०५४ सालदेखि हालसम्मको मिसिलको अभिलेख रहेको थियो । बिचको समयको अभिलेख भने अन्यत्रै राखिएको थियो, जसको कारण ती अभिलेख भने जल्न पाएनन् ।
अदालतको अन्डरग्राउन्डमा रहेको अभिलेख शाखामा आगजनी हुँदा ५ लाख २० हजार थान अभिलेख जलेर खरानी भयो । त्यहाँ अब खरानीबाहेक अरू केही बाँकी छैन । करिब २ दिनसम्म आगलागी भइरहँदा त्यहीँको आगोको कारण भवनको बिम र पिलरमा समेत क्षति पुगेको छ, जसका कारण उक्त भवन बस्न अयोग्य प्राय बनेको छ ।
सुरुमा अभिलेख शाखामै आगो लगाइएको थिएन ।
अदालतका एक कर्मचारीका अनुसार प्रदर्शनकारीको एउटा समूह सुरुमा फाँट नम्बर १३ मा पुगेको थियो । प्रदर्शनकारी सोझै फाँट नम्बर १३ मा पुगेर फाँटमै आगो लगाए । उक्त फाँटमा नक्कली भुटानी शरणार्थी प्रकरण र अन्य केही चर्चित प्रकरणमा मुद्दाका मिसिलहरू थिए । प्रदर्शनकारी सोझै उक्त फाँटमा पुगेर आगो लगाए ।
भवनको चौथो तलामा रहेको फाँट नम्बर १३ मा आगो लगाए पनि सोही तल्लाको अर्को फाँटमा भने उनीहरूले आगो लगाएनन् ।
चौथो तलामा रहेको फाँट नम्बर १३ मा आगो लगाएपछि त्यही समूह तेस्रो तलामा रहेको फाँट नम्बर ९ मा पुग्यो । उक्त फाँटमा बहुचर्चित ६० किलो सुन तस्करीसँग सम्बन्धित मुद्दाका मिसिलहरू थिए र भर्खरै बकपत्र सुरु भएको थियो ।
आगजनीपछि उक्त फाँटमा रहेका सम्पूर्ण मिसिलहरू समेत जलेर खरानी भएका छन् । त्यहाँ अब न मिसिल बाँकी छ, न कुनै कागजात नै । प्रदर्शनकारीको जत्थाले उक्त फाँटमा पनि जानीजानी, छानिछानी र बदनियत पूर्वक आगो लगाएको अदालतका एक कर्मचारीले बताए ।
अदालतको फाँट नम्बर २१ मा समेत प्रदर्शनकारीले आगो लगाउँदा त्यहाँ रहेका फाइलहरू समेत नष्ट भएका छन् । उक्त फाँट भने सामान्य मार्गको फाँट हो ।
मिसिल तयार हुन्छन्, मुद्दा सकिँदैन : न्यायाधीश खड्का
अहिले काठमाडौं जिल्ला अदालतमा चलिरहेका केही मिसिलहरू जलेर खरानी भएपछि मुद्दाको अवस्था के हुन्छ वा मुद्दा अगाडि बढ्छ कि बढ्दैन भनेर विभिन्न अड्कलबाजीहरू भइरहेको छन् । मिसिल नै नभएपछि मुद्दा नै सकियो भन्नेहरू पनि छन् ।
चुरामन खड्का, न्यायाधीश
तर अदालतका प्रमुख न्यायाधीश चुरामन खड्का भने अहिले मिसिल नष्ट भए पनि मुद्दा नष्ट नहुने र पुनः मिसिल तयार पारेर सुनुवाइ हुने बताउँछन् । सोमबार लोकपथसँग कुराकानी गर्दै न्यायाधीश खड्काले मिसिल नष्ट भयो भनेर कसैले खुसी मनाइरहेको भए त्यो गलत रहेको भन्दै पुनः मिसिल तयार पारेर मात्रै सुनुवाइ हुने र सुनुवाइपछि मात्रै सफाइ वा ठहर हुने बताए ।
न्यायाधीश खड्काले आफूहरूले अहिले बन्दी प्रत्यक्षीकरण, म्याद थप, निवेदन लगायतका काम मात्रै सुरु गरेको भन्दै अब दसैँपछिबाट नियमित सुनुवाइ गर्ने गरी तयारी गरिरहेको बताए ।
आगजनीपछि न्यायाधीश र कर्मचारीमा केही त्रास र अन्योल रहेको भए पनि आफूहरू खरानी टकटकाएर न्याय सम्पादनमा लागि पर्ने बताए ।
लोकपथबाट