मेलबर्न। अस्ट्रेलियामा बसोबास गर्ने नेपाली विवाहित महिलाहरूको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिसेस नेपाल अस्ट्रेलिया २०२५को फाइनल सेप्टेम्बर १३ मा मेलबर्नमा सम्पन्न भएको छ। प्रतियोगिताको विजेता लीला तिवारी पौडेल बनेकी छन्। उनले आफ्नो आत्मविश्वास, आकर्षण र प्रेरणादायी उपस्थितिबाट निर्णायक मण्डल र दर्शकलाई प्रभावित गर्दै ताज जितिन्। लीला तिवारीले ‘एलीगेन्ट वाक’ उपाधि, एक हजार अस्ट्रेलियन डलर नगद, लेट मी इन कोरियन हस्पिटल नेपालबाट ५० हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर र अन्य उपहारहरू प्राप्त गरिन्।
विजेता लीला तिवारी पौडेल बुटवल निवासी हुननु् र हाल मेलबर्नको मिकलह्याममा बसोबास गर्छिन्। उनी पेशाले नर्स हुन्।
फस्र्ट रनर-अपको उपाधि सिवानी कट्टेलले हात पारिन्। उनलाई ‘कन्फिडेन्स’ (आत्मविश्वास) पुरस्कारसहित ६०० अस्ट्रेलियन डलर, ३० हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर र अन्य उपहार प्राप्त गरिन्। सेकन्ड रनर-अप आश्मा चालिसे घोषित भइन्। उनले ‘ग्रेसफुल डीभा’ उपाधि जितिन् र ४०० अस्ट्रेलियन डलर, २० हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर तथा अन्य उपहार प्राप्त गरिन्।
प्रतियोगितामा १४ जना नेपाली विवाहित महिलाहरूले भाग लिएका थिए। यसले सौन्दर्यसँगै नेपाली संस्कृति, परम्परा र प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने उद्देश्य राखेको थियो । विभिन्न उपाधिहरूमार्फत प्रतियोगीहरूको विशिष्टतालाई सम्मान गरिएको थियो । जस्तै- आकृति सापकोटाले बोल्ड एण्ड ब्युटी, आरती सिंहले इन्टेलेक्चुअल, जमुना अधिकारी रिजालले कन्जेनियलिटी, निवा प्रजापति सोशल इम्प्याक्ट एण्ड एलिगेन्ट पर्सनालिटी, सन्ध्या भट्टराईले हर्ट अफ गोल्ड, जस्मिन चौलागाईं ढकालले मिसेस पोइज, अनुजा मल्ल ढकालले ट्यालेन्ट, विद्या पनेरूले डिसिप्लिन, रश्मी अधिकारीले फोटोजेनिक, दीपा खनालले बेस्ट एटिच्युड र सरस्वती श्रेष्ठले फेसनिष्टा उपाधि जितिन्।
कार्यक्रमलाई फेसन कोरियोग्राफर तथा सञ्चारकर्मी रोजिन शाक्यले मार्गदर्शन, कोरियोग्राफी र सञ्चालन गरेका थिए। हिमाली कल्चर ग्रुप मेलबर्न र इभेन्ट्स नेपाल अस्ट्रेलियाले आयोजकत्व गरेका कार्यक्रमलाई मिरेकल माइग्रेशन एण्ड एजुकेशनले प्रस्तुत गरेको थियो भने ग्रेस इन्टरनेशनल एजुकेशन एण्ड माइग्रेशनले प्रायोजन गरेको थियो।
निर्णायक मण्डलमा कलाकार तथा मोडल प्रकृति श्रेष्ठ, मिस नेपाल अर्थ २०११ अनुपमा अरा गुरुङ, एथ्रीके सोलुसनका एमडी विनोद कुवर, मिरेकल माइग्रेशनका सागर शाही र ग्रेस इन्टरनेशनलका प्रकाश रेग्मी समावेश थिए।
कार्यक्रममा अस्ट्रेलियाका लागि नेपालका मानार्थ वाणिज्यदूत नीराजन गौली मुख्य अतिथि रूपमा उपस्थित भएका थिए। मिसेस नेपाल अस्ट्रेलिया २०२५ ले विवाहित नेपाली महिलाहरूको क्षमता, आत्मविश्वास, सौन्दर्य र संस्कृति विश्वभर उजागर गर्ने अवसर प्रदान गरेको छ।