काठमाडौं, २९ भदौ । हामी नेपालका संयोजक सुधन गुरूङले आफू नेपालको छोराको भएकोले भारतीय भन्ने काम नगर्न चेतावनी दिएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सुरुमै भने,‘तपाईंको भारतीय फेक सुदन गुरुङ यही हो । फेक भारतीय सुदन गुरुङ है, म नेपालको छोरो हो । मलाई भारतीय भन्ने काम नगर्नुहोला । कुनै मिडिया, कुनै व्यक्तिले मेरो प्रतिष्ठामा प्रहार गर्ने काम नगरिदिनु, प्लिज । म एउटामात्रै झण्डको मुनि छु अहिलेसम्म, त्यो मेरो देशको झण्डा हो । कहिले भारतीय भन्या छ, कहिले के भन्या छ, कहिले बारबरा फाउण्डेशन, कहिले फ्रि–तिव्बत भन्छ, कहिले चाईजिन भन्छ । हो, मेरो आँखा त त्यस्तै छ ।’
जेन–जी आन्दोलन सबै युथको आह्वानमा भएको र आफूले पनि त्यसको लागि आह्वान गरेको उनको स्पष्टोक्ति थियो । आफूहरुले देशको परिवर्तनको लागि लडेको पनि उनले स्मरण गराए । यो आन्दोलनमा युवाहरुको मृत्यु भएको भन्दै आफू उनीहरुको लागि लडिरहेको उनको भनाई छ । उनले संसद् विघटन गरिनुपर्छ भन्ने आफूहरुको पहिलो माग भएको र त्यो पूरा भएको बताए । तर, आफूहरुको आन्दोलन अझैपनि जारी रहेको उनको भनाई छ । उनले भने,‘हाम्रो ओरिजिनल माग चाहीँ पूरा भएको छैन । आन्दोलन जारी छ। आन्दोलन म एक्लै भएपनि लड्न सक्छु । जति फेक मिडिया आएपनि म लड्न सक्छु ।’ आफ्नो लागि देश नै सबैभन्दा माथि रहेको उनको भनाई छ ।