मिस वर्ल्ड २०२० नेपाल आउदै

मिस वर्ल्ड २०२० नेपाल आउदै

काठमाडौ : सन् २०२० को ‘मिस वर्ल्ड’ प्रतियोगिताको फाइनल कार्यक्रम नेपालमा गर्न अध्ययन हुँदै छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मिस नेपालको आयोजना गर्दै आएको ‘द हिडन ट्रेजर’ले त्यसको प्रक्रिया अगाडि बढाएका छन् ।

सम्भावना अध्ययन गर्न बिहीबार ( मार्च ५) मा २०१९ कि मिस वल्र्ड जमैकाकी टोनी आन सिंह र मिस वर्ल्ड अर्गनाइजेसनकी अध्यक्ष जुलिया मोर्ली नेतृत्वको टोली नेपाल आउँदै छ ।

टोलीले पहिलो चरणको अध्ययन गरेपछि थप अध्ययनका लागि प्राविधिक टोली नेपाल आउने द हिडन ट्रेजरका अध्यक्ष दिवाकरराज राजकार्णिकारले बताए । त्यसपछि मात्रै नेपालमा कार्यक्रम गर्न सकिने–नसकिने टुंगो लाग्नेछ । दुई दिनको नेपाल बसाइमा उनीहरू सिन्धुपाल्चोकसम्म जाने कार्यक्रमसमेत तय गरिएको छ ।

नेपालको इतिहासमै पहिलोपटक मिस वल्र्ड नेपाल आउन लागेको राजकार्णिकारले बताए । ‘पर्यटन मन्त्रालय र हिडन ट्रेजरको पहलमा उनीहरू नेपाल आउन लागेका हुन्,’ राजकर्णिकारले भने, ‘कहाँ–कहाँ लैजाने भन्ने अझै निर्णय भएको छैन, कोरोना भाइरसका कारण केही समस्या देखिएको छ ।’

मिस वर्ल्ड अर्गनाइजेसन टोलीका सदस्यलाई घुमाउने गाइडको जिम्मेवारी मिस नेपाल अनुष्का श्रेष्ठलाई दिइएको छ । उनले सबै व्यवस्थापनको भूमिका निभाइरहेकी छिन् । पर्यटन मन्त्रालयले मंगलबार नै गृह मन्त्रालयलाई आवश्यक सुरक्षा प्रबन्ध मिलाइदिन पत्र पठाएको छ । नेपालमा मिस वर्ल्ड प्रतियोगिता गर्ने अभियानअन्तर्गत नै उनीहरू नेपाल आउन लागेको राजकर्णिकारले जानकारी दिए ।

नेपालमा सम्भव छ कि छैन भनेर नेपाल आउने टोलीले पहिलो चरणको अध्ययनपछि अर्गनाइजेसनले निर्णय लिनेछ । प्रत्येक वर्षको डिसेम्बरमा मिस वर्ल्ड प्रतियोगिता हुँदै आएको छ । प्रतियोगितामा विश्वका एक सय १० मुलुकका सुन्दरीहरूले भाग लिने गरेका छन् । नेपालले सन् १९९६ देखि नै भाग लिँदै आएको छ । पहिलो मिस नेपाल बन्दै रुवि राणाले १९९६ को मिस वल्र्ड प्रतियोगितामा भाग लिएकी थिइन् । मिस वल्र्डको पछिल्लो संस्करण १४ डिसेम्बरमा लन्डनमा भएको थियो ।

को हुन् जुलिया मोर्ले ?
सन् १९५१ मा इरिक मोर्लेले मिस वल्र्ड अर्गनाइजेसन स्थापना गरेर पहिलोपटक लन्डनमा ‘मिस वल्र्ड’ प्रतियोगिता सुरु गरेका थिए । जसमा विश्वका २६ देशका सुन्दरीले भाग लिएका थिए । पहिलो मिस वल्र्डको उपाधि स्विडिस मोडल किकी हाकन्सनले जितेकी थिइन् । ६८ वर्षदेखि लगातार मिस वर्ल्ड प्रतियोगिता आयोजना हुँदै आएको छ । सन् २००० मा इरिक मोर्लेको निधन भएपछि संस्थाको जिम्मेवारी उनकै श्रीमती जुलिया मोर्लेले सम्हाल्दै आएकी छिन् ।