काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अबको ६ महिनामा हुने राष्ट्रिय सभाको निर्वाचनपछि संविधान संशोधनको विषय अगाडि बढ्ने बताएका छन्। प्रेस चौतारी नेपाल कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले अहिले प्रतिपक्षी दलहरु सरकारले सारेको मुद्दामा छलफल गर्न तयार नरहेको र राष्ट्रिय सभामा पनि दुई दलको प्रष्ट बहुमत नभएको कारण संविधान संशोधनको विषय अगाडि नबढाइएको बताएका हुन् । अबको ६ महिनापछि १९ सिटको लागि हुने राष्ट्रिय सभा निर्वाचनमा दुई दल मिलेर अगाडि बढ्ने पनि उनले बताए।
‘सरकारमा नरहेका दलहरु सरकारले अगाडि सारेका मुद्दाहरुमा छलफल गर्नका लागि त्यति धेरै सकारात्मक भइसकेका छैनन् । वातारण त बनाउनुपर्यो नि त । वातारण नबनाइकन संविधान संशोधनजस्तो मुद्दामा एकैचोटी प्रवेश गर्ने कुरा उचित हुँदैन । अर्कोतिर राष्ट्रिय सभामा सरकारमा रहेका प्रमुख दलहरुको बहुमतसमेत सुनिश्चित छैन । अब ५/६ महिना पछाडि राष्ट्रिय सभामा १९ सिट खाली हुन्छ । त्यसपछि दुवै दल मिलेर हामी त्यसमा सफलता प्राप्त गर्छौं । अनुकूलता निर्माण गर्छौं । त्यसपछि हामी संविधान संशोधनको विषयमा व्यवस्थित रुपमा प्रवेश गर्छौं । हामीले जे भनेका छौं, हामी त्यो गर्नका लागि नै सरकारमा पुगेको हो । त्यो काम गर्छौं,’– उनले भने ।
साथै, फरक प्रसंगमा उनले नेपाली कांग्रेसको संस्थापन इत्तर पक्ष सरकारमा सहभागी भएर पनि प्रतिपक्षीको व्यवहार गरिरहेको बताए । कांग्रेस नेता शेखर कोइराला पक्षधरले सरकारसँग हिस्सा पनि खोजेको र सरकारको पक्षमा एक शब्दसमेत नबोलेको उनले बताए ।
‘सरकारमा सामेल हुने, सरकारप्रति चाहिँ प्रतिपक्ष व्यवहार गर्ने । अझ शेखरजीको कुरा सुन्दाखेरी त कस्तो लाग्छ भने सरकारमा संस्थापन पक्षसँग हिस्साको लागि पनि वादविवाद गर्ने, हिस्सा प्राप्त गर्ने, तर सरकारको पक्षमा एक शब्द पनि नबोल्ने कुरा त नैतिक हिसाबले पनि राम्रो कुरा होइन । त्यो कुरा चाँहि उहाँले सुधार गर्नुपर्छ,’– उनले भने ।