काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेकै शैलीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार सफल नहुने बताएका छन् । बुधबार बारामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरुले सरकारलाई सफल बाउन चाहेको भएपनि अहिलेकै शैलीले सफल नहुने बताएका हुन् । अब सरकारले कार्यशैली सुधार गर्नुपर्ने र कामको गतिलाई तीब्रता दिनुपर्ने बताए ।
‘हामी अहिले संघको सरकारलाई सफल बनाउन चाहन्छौं । यो नेतृत्वको सरकारलाई सफल बनाउन चाहन्छौं । तर, सफल हुनको निम्ति हामीले बुझेको कुरा यत्ति हो, यो शैलीले सफल भइँदैन । यो शैली सुधार गर्नुपर्छ, काम गर्ने गति बढाउनुपर्छ । मति ठीक राख्नुपर्छ । सानो–सानो स्वार्थमा लाग्नु हुँदैन । हामी यो ढंगबाट सरकारलाई परिणाममा पुर्याउन चाहन्छौं,’– उनले भने ।
साथै, सरकारले शिक्षकहरुको मागप्रति ध्यान दिन नसक्दा अहिले उनीहरु काठमाडौं केन्द्रीत आन्दोलनमा आउनुपरेको बताए । उनले आफूहरुले शिक्षकहरुको मागको सम्बन्धमा काम गरेर जतिसक्दो छिटो उनीहरुलाई कार्य क्षेत्रमा फर्काउन चाहेको बताए । ‘शिक्षकहरुलाई जतिसक्दो छिटो आफ्नो कार्यक्षेत्रमा फर्काउनुपर्ने जिम्मेवारी सरकारको हो । हामी त्यसमा काम गर्न चाहन्छौं, हामी सरकारका बसेका साथीहरुलाई पनि मदत गर्न चाहन्छौं । अहिले शिक्षक साथीहरु आन्दोलनमा बसिरहँदा २०८२ सालमात्रै होईन, धेरै लामो समयसम्म यसले असर गर्छ,’ उनले भने ।
साथै, उनले कांग्रेसमा प्रश्न गर्न पाइने, फरक मत राख्न पाइने र आलोचना गर्न पाइने बताए । महामन्त्री थापाले प्रश्न, आलोचना र फरक मतकै कारण कांग्रेसभित्र कोही ‘भीम रावल’ नबन्ने बताए ।