वर्ष २०८१ का हिट ५ फिल्मी गीत, कसको कति भ्युज ?

वर्ष २०८१ का हिट ५ फिल्मी गीत, कसको कति भ्युज ?

काठमाडौँ । वर्ष २०८१ नेपाली फिल्मका गीतसंगीतका लागि समेत निकै फलदायी रह्यो । यो वर्ष करिब दर्जन हाराहारीका फिल्मी गीत संगीतले सांगीतिक बजार चर्चा पाउन सफल भयो । ती गीतमार्फत नयाँदेखि पुराना गायक गायिकासम्म चर्चामा रहे ।

यो वर्ष आएका फिल्मी गीत केही यस्ता आए, जसले फिल्मको व्यवसायमा समेत मद्दत गर्यो । पछिल्लो समय गीतसंगीतको लोकप्रियता मापन युट्युबको भ्युजबाट गर्ने गरिन्छ । यस्ता छन् भ्युजका आधारमा उत्कृष्ट ५ फिल्मी गीत ।

१ रुकुम मैकोट (१२ करोड बढी भ्युज)

‘खुस्मा’ फिल्ममा समावेश लोकशैलीको गीत ‘रुकुम मैकोट’ले अहिलेसम्म १२ करोड २ लाख बढी भ्युज पाउन सफल छ । केही महिना युट्युबको ग्लोबल ट्रेन्ड्रिङमा समेत रहन सफल यो गीतमा एसडी योगीको संगीत तथा स्वर छ । 

गीत सामाजिक प्लेटफर्म टिकटक र रिल्समा पनि उत्तिकै प्रयोग भएको थियो । लोकलय र मन छुने शब्दको कारण यो गीतलाई धेरैले रुचाएका हुन् । गीतमा अभिनेता धीरज मगर र अभिनेत्री उपासनासिंह ठकुरी फिचर्ड छन् । गीतले फिल्मको व्यवसायमा पनि ठुलो मद्दत ग¥यो ।

२ बुझिनँ मैले (४ करोड बढी भ्युज) 

फिल्म ‘बोक्सीको घर’मा समावेश ‘बुझिनँ मैले’ बोलको गीतमा गायक प्रकाश सपुतको शब्द तथा संगीत र गायिका समीक्षा अधिकारीको स्वर छ ।

फिल्मको कथा हेरेर तयार पारिएको गीतमा नायिका केकी अधिकारीको साथमा कलाकारहरू सुलक्षण भारती र रमा थपलियाको समेत अभिनय छ । गीतले अहिलेसम्म ४ करोड ४७ लाख बढी भ्युज पाएको छ । गीतको भिडियोमा सुनिल क्षेत्रीको  कोरियोग्राफी रहेको छ । फिल्मको चर्चा र व्यवसायमा गीतले मद्दत गरेको बताइन्छ ।

३ ब्रेकअप सङ् (४ करोड भ्युज) 


‘छक्कापञ्जा ५’ फिल्मको यो गीतमा बाबुल गिरीको शब्द, संगीत, एरेन्ज र स्वर छ । गीतमा प्रेमीले प्रेमिकालाई पोखेको आक्रोशका कुरा दर्शाउन खोजिएको छ ।

अहिलेसम्म ४ करोड १० लाख बढी भ्युज पाएको गीतमा फिल्मका कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे (माग्ने बुढा), वर्षा शिवाकोटी, मेक्सम गौडेललगायत देखिएका छन् । कलाकार सुरवीर पण्डित र रामेश्वर केसी पनि गीतमा देखिन्छन् । गीतमा दीपक र माग्ने बुढाले ब्रेकअप अंकित सुट लगाएका छन् । गीतका कारण फिल्मको व्यवसायमा पनि मद्दत मिलेको छ ।

४ रैया चाँदीको (४ करोड बढी भ्युज) 


ब्यवसायमा कृतिमान रच्न सफल फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को गीत ‘रैया चाँदीको’ आशिष अविरल र मेलिना राईको स्वर छ । ४ करोड ३ लाखभन्दा बढी भ्युज पाएको गीतमा नवराज पन्तको शब्द, गायक अविरलकै संगीत छ ।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली र बुद्धि तामाङ रोधी गाइरहेको देख्न सकिन्छ । गीत दोहोरी ब्याटलका रूपमा देखाइएको छ ।

५ काँधेकुरी (१ करोड ६५ लाखबढी भ्युज)


फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’कै गीत हो ‘काँधेकुरी’  पनि । गीतमा एक पिताले आफ्नो छोराका लागि गरेको बलिदान र सङ्घर्षको भावनात्मक कथा प्रस्तुत गरिएको छ । एक करोड ६५ लाख बढी भ्युज पाएको गीतमा विजय बराल, र स्वयम् केसीको अभिनय देख्न सकिन्छ । गीतमा स्वर, शब्द, संगीत तथा एरेन्ज प्रशान्त शिवाकोटीको छ ।