काठमाडौं। नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री सुदन किरातीले गणतन्त्रमाथि वार्निङ घण्टी बजेको बताएका छन् । भोजपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले खेलकुदजस्तो अनुशासन नभएकोले राजनीतिप्रति जनता निराश भएको र रिसाएको टिप्पणी गरेका छन् । उनले भने,‘खेलकुदको जस्तो अनुशासन राजनीतिमा भएन । त्यसैले जनता रिसाए । अहिले त गणतन्त्रमाथि वार्निङ घण्टी बज्यो ।’
राजनीति गर्नेहरु अब सच्चिनुको विकल्प नभएको पनि उनको तर्क छ । उनले भने,‘हामी सच्चिनुको विकल्प छैन । अब अरूलाई गाली नगरौं हामी आफैं देखिनेगरि सच्चिउँ। हाम्रोजस्तो लोकतन्त्रमा व्यवस्थापिकाले सडक बनाउँछ, कार्यपालिकाले गाडी उडाउँछ अनि न्यायपालिकाले ट्राफिकको काम गर्छ तर यी तीन निकाय नै आफ्नो कर्तव्यबाट उदासिन भयो । खेलकुदमा अनुसासन र कठोर श्रम चाहिन्छ त्यो दुवै राजनीतिमा भएन । राजनीति अहिले त अल्छे भयो । अराजक पनि भयो ।’