काठमाडौं। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले कीर्तिपुरमा निर्माणाधिन क्रिकेट स्टेडियमको सिंहदरबारस्थित आफ्नै कार्यकक्षबाट निरीक्षण गरेका छन्। उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्रालयको सिंहदरबारस्थित कार्यकक्षबाटै अब दैनिक नियमित निरीक्षण हुनेछ।
समयमै काम सक्न ८ घण्टाका दरले अहिले तीन सिफ्टमा काम पनि भइरहेको छ।
उपप्रधानमन्त्री सिंहले निर्धारित समयमै सक्ने गरि काम गर्ने व्यवस्था मिलाउन र कामको गति बढाउनुसपर्नेमा जोड दिएका छन्। शहरी विकास मन्त्रालयअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप प्याराफिट निर्माण र फ्लडलाइट जडान गत फागुनमा सम्झौता भई आगामी वैशाख २४ गतेभित्र सम्पन्न गर्नेगरी काम भइरहेको छ।
शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले निर्धारित समयमै निर्माण सक्ने गरि काम भइरहेको र अब नियमित रुपमा मन्त्रालयबाटै निरिक्षणको व्यवस्था मिलाइएको बताए। ‘आजबाट मन्त्रीज्यूले मन्त्रालयबाटै कीर्तिपुरमा भइरहेको कामको निरीक्षण गर्नुहुनेछ,’ उनले भने, ‘निर्धारित समयमै काम सक्नका लागि उहाँको चासो छ।’
गत चैत ७ गते उपप्रधानमन्त्री सिंहले कीर्तिपुर पुगेरै निर्माण कार्यको निरीक्षण गरेका थिए। आगामी वैशाख २४ गतेभित्रै कीर्तिपुर मैदानमा १० हजार क्षमताको प्याराफिट निर्माण सम्पन्न गर्ने गरि मन्त्रालयले काम गरिररहेको छ।