काठमाडौँ । विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीमा सरकारले माओवादी केन्द्रको समेत सहमति रहेको भ्रम छरेको आरोप लागेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसप्रति खेद प्रकट गरेका छन् ।
शान्ति प्रक्रिया टुङ्गो लगाउने शीर्ष नेताको बैठक लगत्तै निर्णय लिएर सरकारले आफ्नो दलको समेत सहमति रहेको भन्दै भ्रम सृजना गरेको आरोप माओवादी केन्द्रका नेताहरूले लगाएका थिए ।
त्यसको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, “कुलमान घिसिङलाई हटाउने कुरा र शान्तिप्रक्रिया निकै अलग र फरक कुरा हुन् । शान्ति प्रक्रियाबारेको छलफल र सहमतिमा कुलमान कहाँबाट जोडियो ? राम्रो काम नगर्ने एउटा कर्मचारीलाई सरकारले हटाएको हो । कुलो खनेको र बाख्रो किनेको विषय कहाँबाट एकै हुन्छ ?”
उनले अनावश्यक भ्रम नछर्न प्रतिपक्षी दललाई आग्रह गरेका छन् ।