भारतमा हिंसात्मक झडप, मृतकको संख्या १८ पुग्यो

भारतमा हिंसात्मक झडप, मृतकको संख्या १८ पुग्यो

काठमाडौ : भारतको राजधानी नयाँदिल्लीको उत्तरपूर्वी क्षेत्रमा आइतबारबाट भड्किएको हिंसामा ज्यान गुमाउनेको संख्या १८ पुगेको छ । दिल्लीको गुरु तेगबहादुर अस्पतालका निर्देशक सुनिल कुमारले बुधबार बिहान थप ४ जनाको मृत्यु भएको जानकारी दिए । हिंसामा घाइते भएका चार जनालाई अस्पताल ल्याउँदा मृत्यु भइसकेको उनले जानकारी दिए । मृत्यु हुनेमा एक सुरक्षाकर्मी र बाँकी सर्वसाधारण रहेका छन् ।

हिंसामा ५० भन्दा बढी सुरक्षाकर्मीसहित २५० भन्दा बढी घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। भारतको राजधानी नयाँदिल्लीमा दुई दशकयताकै ठूलो हिंसा फैलिएको बताइएको छ।

यसैबीच बुधबार बिहानै राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले हिंसा प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्। उनले केही बेरमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई दिल्लीको पछिल्लो अवस्थाका बारेमा जानकारी दिने बताइएको छ।

घटनास्थल पुगेका एम्बुलेन्सलाई समेत अवरोध पुर्‍याइएपछि घाइतेलाई मोटरसाइकल र भ्यानमा राखेर अस्पताल पुर्‍याइएको थियो । उग्र भीडले पत्रकारहरूमाथि पनि हमला गरेको छ । हमलामा एनडीटीभी, एबीपीका पत्रकारहरू घाइते भएका छन् । केही पत्रकारमाथि गोली प्रहार भएको छ । घाइतेहरुको उद्धारमा अवरोध पुर्‍याइएपछि मंगलबार राति दिल्ली उच्च अदालतले दिल्ली प्रहरीलाई घाइतेहरुको तत्काल उद्धार गर्न आदेश दिएको थियो।

परिस्थिति असामान्य बन्दै गएपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मंगलबार अपराह्न केन्द्र सरकारका गृहमन्त्री अमित शाह र दिल्लीका उपराज्यपाल जी बैजाललाई भेटेका थिए । त्यो भेटपछि केन्द्र सरकारले हिंसाग्रस्त क्षेत्रमा थप प्रहरी परिचालन गर्ने निर्णय गरेको थियो । लगत्तै जफरावाद, खजुरी खास, भजनपुरा, मौजपुरलगायत हिंसा प्रभावित क्षेत्रमा मंगलबार साँझ अर्धसैनिक बलका टुकडीहरूले मार्च गरेका थिए । त्यसपछि भने परिस्थिति सामान्य बन्दै गएको बताइएको छ ।