ज्ञानेन्द्रको सक्रियतासँगै सहमतिको सरकार गठनको तयारी, प्रचण्ड–देउवाबीच छलफल, भारतको ग्रीन सिग्नल

ज्ञानेन्द्रको सक्रियतासँगै सहमतिको सरकार गठनको तयारी, प्रचण्ड–देउवाबीच छलफल, भारतको ग्रीन सिग्नल

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियतासँगै राजनीतिक दलहरु गहन छलफलमा छन् । उनीहरुले एक भएर व्यवस्थाविरोधीको सामना गर्ने तयारीमा छन् । 

यससँगै राष्ट्रिय सहमतिको सरकार गठन गर्नेबारे पनि छलफल चलिरहेको छ । वर्तमान केपी ओली नेतृतवको सरकारप्रति भारत पनि सकारात्मक नरहेको र उनको मनोमानी निर्णयले व्यवस्था विरोधीले आवाज उठाउने मौका पाएको भन्दै उनको विकल्प खोज्ने तयारी भएको हो । 

पछिल्लो विकसित घटनाक्रमबारे कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच फोनवार्ता पनि भएको छ । सो वार्तामा उनीहरुबीच देउवाको नेतृत्वमा सहमतिको सरकार बनाउनेबारे छलफल भएको बताइन्छ । 

देउवाको नेतृत्वमा सरकार बनाउन भारत सकारात्मक भए पनि चीनको चाहना भने प्रष्ट भएको छैन । छिमेकसँगको सन्तुलन कायम नगरेराजावादीहरु हाबी हुने भन्दै दलहरुले विभिन्न दूतमार्फत छलफल छलाइरहेका छन् । 

चीनको चाहना माधव नेपाल
सहमतिको सरकारबारे विभिन्न नेतालाई विकल्पको रुपमा हेरिएको छ । चीन देउवाप्रति सकारातमक नरहेको खण्डमा माधव नेपाललाई अघि सर्न सकिनेबारे कांग्रेस र माओवादी केन्द्रका नेताहरु सकारात्मक छन् । यद्यपि एमाले भने माधवको हकमा सकारात्मक छैन । 

यस्तो खण्डमा भावी प्रधानमन्त्रीको रुपमा तेस्रो व्याक्तिको प्रवेश हुने सम्भावना देखिन्छ । 

सहमतिको सरकार गठनको गृहकार्यृ सुरु भएसँगै माओवादी केन्द्र पछिल्लोसमय सरकारप्रति नरम देखिएको छ । दलहरुको निसानामा व्यवस्थाविरोधी परेका छन् । 

कांग्रेससँग छलफल भइरहेको छः दाहाल
नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार देश र जनताको लागि बोझिलो भएकोले अब गणतन्त्रका पक्षधरहरुबीच सहकार्य गरी अर्को सरकार बनाउनेबारे छलफल भएको बताउँछन् ।  सहकार्यको अर्को सरकारका लागि माओवादीले एमालेभन्दा कांग्रेससँग नै छलफल चलाउने उनले बताए । एमालेभन्दा कांग्रेस नै बढी प्रगतिशील रहेको नेता दाहालको दाबी छ ।

‘क्रान्ति, परिवर्तन र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षधरको बीचमा सहकार्य, यो व्यवस्थाको रक्षा गर्न, संविधानको रक्षा, संविधानको सफल कार्यान्वयनको प्रक्रिया नेकपा एमाले भन्दा कांग्रेस चाहीँ सापेक्षित प्रगतिशील भएको नाताले गर्दा हाम्रो छलफल कांग्रेससँग बढी हुन्छ,’– उनले भने ।

अहिले सडकभन्दा मुख्यतः सरकारमै समस्या रहेको र सरकारमा बसेर व्यवस्थाविरोधी गतिविधि भइरहेको उनको आरोप छ । व्यवस्थाविरोधी गतिविधिलाई निरुत्साहित गर्न, संघीय लोकतान्त्रिक पक्षधरहरु एक ठाउँमा उभिन अर्को सरकार बनाउनुपर्ने उनको धारणा थियो । उनले माओवादीले गणतन्त्रविरोधीहरुसँग कुनै पनि हालतमा सहकार्य नगर्ने बताए । 

प्रधानमन्त्री ओलीको सरकार सञ्चालन गर्ने शैलीले आम जनतामा वितृष्णा पैदा भएको र सडकमा पनि अराजकता बढेको उनको आरोप छ । ओली सरकारको गतिविधिले प्रतिगामीहरुलाई फाइदा पुगिरहेको उनले बताए ।