बालेनले पठाए मन्त्रालयलाई जवाफी पत्र : सरोज गुरागाईंलाई हाजिर हुन दिदैँनौँ

बालेनले पठाए मन्त्रालयलाई जवाफी पत्र : सरोज गुरागाईंलाई हाजिर हुन दिदैँनौँ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले प्रमुख प्रशासकीय अधिकृत सरोजप्रसाद गुरागाईंलाई हाजिर नगराउने अडान लिँदै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जवाफी पत्र पठाएका छन् ।

“काठमाडौं टावर” परियोजनासँग सम्बन्धित विवादका कारण प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई बालेनले बिदामा राखेका छन् । शाहले गुरागाईंले “त्रुटिपूर्ण कार्य” गरेको आरोप लगाउँदै मन्त्रालयसँग अर्को प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गर्न वा स्थानीय सरकार सञ्चालन ऐन संशोधन गर्न माग गरेका छन् ।

मन्त्रालयले बुधबार गुरागाईंलाई काम गर्ने वातावरण बनाइदिन भन्दै महानगरपालिकालाई पत्राचार गरेको थियो । यसको जवाफमा मेयर शाहले अहिलेको अवस्थामा हाजिर गराउन नसकिने ठोकुवा गरेका छन् ।

महानगरले आफ्नो पत्रमा “काठमाडौं टावर” सार्वजनिक(निजी साझेदारीमा आधारित परियोजना भएको र यस्ता परियोजनाहरूको सञ्चालन व्यवस्थापन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार साझेदारी बोर्ड र नगर कार्यपालिकाको अधिकार क्षेत्रभित्र पर्ने उल्लेख गरेको छ । महानगरले अहिले निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक अधिकार दिई कार्यालय सुचारु राख्ने व्यवस्था मिलाएको जनाएको छ ।