काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले कार्यकर्तालाई चुनावी तयारीमा लाग्न निर्देशन दिएका छन् ।
भैरहवामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले सिट सङ्ख्या बढाउने गरी चुनावी तयारी थाल्न कार्यकर्तालाई निर्देशन दिएका हुन् । पार्टीमा केही असहमति भए त्यसलाई छलफलमार्फत समाधान गरिने भन्दै उनले एकताबद्ध रूपमा चुनावी अभियानमा लाग्न कार्यकर्तालाई निर्देशन दिए । “हामीबीच कतिपय कुरा नमिलेका हुन सक्छन् । यी सबै कुराहरुलाई आपसमा छलफल गरेर हाम्रो पार्टीलाई जीवन्त र गतिशील पार्टीका रुपमा अगाडि बढाउन सक्नुपर्दछ,” देउवाले भने ।
उनले वर्तमान सरकार सफल हुने पनि दाबी गरेका छन् । सरकारमा काङ्ग्रेस र एमालेबाहेक अन्य दलको सहभागिता राम्रो पक्ष रहेको उनको मत छ । नेपालको शासनप्रणाली लोकतान्त्रिक र समावेशी रहेको देउवाको भनाइ छ ।