काठमाडौं। सरकारले दुई पांग्रे सवारी साधनमा पछाडि बस्ने यात्रुले अनिवार्य रुपमा हेलमेट लगाउनुपर्ने व्यवस्था ल्याउने भएको छ। २०४९ सालमा बनेको सवारी तथा यातायात व्यवस्थालाई ऐनमा परिमार्जन गर्दै नयाँ व्यवस्थासहित ल्याउन लागिएको नयाँ ऐनमा यस्तो व्यवस्था गरेको हो।
नयाँ ऐनको मस्यौदा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आफ्नो वेस साइटमार्फत सार्वजनिक गरेको छ। मस्यौदामा दुई पांग्रे सवारी साधन चालक र पछाडि बस्ने यात्रुले अनिवार्य हेलमेट लयाउनुपर्ने प्रस्ताव गरिएको छ।
यसअघि चालकका लागि मात्रै हेलमेट अनिवार्य थियो। त्यस्तै सवारी साधन चलाउँदा चालकभन्दा अगाडि बालबालिका राख्न नपाइने व्यवस्था पनि मस्यौदामा राखिएको छ।
सरकारले ल्याउन लागेको यो नियम आजभन्दा १७ वर्षअघि पनि लागु गरिएको थियो।
तर, उक्त नियम हटेको १४ वर्षपछि ट्राफिक प्रहरीले पुनः पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने प्रस्ताव अगाडि सारेको छ।
तत्कालीन सरकारले २०५९ सालमा दुई पाङ्ग्रे सवारी साधनमा पछाडि बस्ने यात्रुले हेल्मेट अनिवार्य लगाउनुपर्ने नियम लागू गरेको थियो।
त्यतिबेला पनि उक्त निर्णयको व्यापक विरोध भयो। जसोतसो ३ वर्षसम्म टिक्यो। अन्ततः व्यापक विरोध भएपछि सुरक्षाको कारण भन्दै २०६१ सालमा पछाडि बस्नेले हेलमेट लगाउनु नपर्ने निर्णय ल्यायो ।