प्रचण्ड भन्छन्- माओवादी मात्रै सक्कली मधेशवादी पार्टी, अरू सबै नक्कली

प्रचण्ड भन्छन्- माओवादी मात्रै सक्कली मधेशवादी पार्टी, अरू सबै नक्कली

सप्तरी । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सक्कली मधेशवादी दल माओवादी मात्रै भएको बताएका छन् । उनले अब मधेशी जनताको मुक्तिको सम्पूर्ण जिम्मा पनि माओवादीले लिने बताए ।

‘जनतासँग माओवादी, तराई-मधेश जागरण अभियान’अन्तर्गत सप्तरीको राजविराजमा शुक्रबार आयोजित स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी र नागरिक समाजका अगुवाहरूसँगको अन्तर्किया उनले यस्तो बताएका हुन् ।

मधेशी जनता मधेशवादको नारामा स्थापित नक्कली मधेशवादी दलको भुलभुलैयाको परेको औल्याउँदै अध्यक्ष प्रचण्डले उनीहरूबाट मधेशी जनताको मुक्ति नहुने प्रमाणित भइसकेको जिकिर गरे । उनले अब वास्तविक मधेशवादी दल माओवादीसँग जोडिनुपर्ने बेला आएको बताए ।

आफूलाई मधेशवादी भन्ने दलहरू जनतातिर नभई प्रतिक्रियावादी दिशा उन्मुख रहेकाले नक्कली मधेशवादी दलसँग सावधान रहन उनले आग्रह गरे । मधेशको मुक्तिविना देशको मुक्ति सम्भव छैन भन्ने मान्यतासहित माओवादीले सबैभन्दा पहिले मधेशी मुक्ति मोर्चा गठन गरेर ‘जनयुद्ध’ थालनी गरिएको उनले बताए ।

प्रचण्डले मधेशसँगै वर्गीय मुक्तिका लागि जीवन आहुति दिने एक हजार तीन सय मधेशका सहिदसहित मधेश मुक्तिका लागि ज्यान गुमाउने सबैका सपनाको जिम्मेवारी पनि अब माओवादीले लिने प्रतिबद्धता जनाए । संघीयता, समावेशिताको बढी आवश्यकता मधेशी समुदायलाई भएको र यसको नेतृत्वकर्ता शक्ति माओवादी भएकाले अब माओवादी र मधेशी जनतको एकता अपरिहार्य र अनिवार्य भइसकेको अध्यक्ष प्रचण्डको जिकिर थियो ।

अन्य प्रदेशमा पहिचानको सवाल कम सम्बोधन भए पनि मधेश प्रदेशको नामाकरण पहिचानबाट भएकोमा गर्व महसुस भएको उनले उल्लेख गरे । माओवादी र मधेशी जनता एक ठाउँमा केन्द्रित नभएमा प्राप्त उपलब्धि खोसिने खतरा रहेकोतर्फ सचेत रहनुपर्ने उनको दाबी थियो ।

राजनीतिक दलकोतर्फबाट माओवादीले नै पहिलोपटक हुलाकी मार्गकेन्द्रित राजनीतिक अभियान सुरु गरेको उल्लेख गर्दै उनले यसको मुख्य उद्देश्य यहाँका जनताको आर्थिक सामाजिक जीवनमा परिवर्तन ल्याउनु भएको स्पष्ट पारे।