इरानमा कोरोनाका कारण तेहरानसहित विभिन्न १४ प्रान्तका शैक्षिक संस्था र सांस्कृतिक केन्द्र बन्द

इरानमा कोरोनाका कारण तेहरानसहित विभिन्न १४ प्रान्तका शैक्षिक संस्था र सांस्कृतिक केन्द्र बन्द

काठमाडौ : इरानमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ।
चीनको वुहानबाट फैलिएको कोरोना भाइरस इरानमा पनि फैलिएको छ । हालसम्म कोरोना भाइरसबाट ६ जनाको मृत्यु भएको र २८ जना संक्रमित बनेको इरानी अधिकारीहरूले बताएका छन् ।

भाइरसबाट ज्यान गुमाउनेहरू सबै इरानी भएको पनि समाचारमा उल्लेख छ । कोरोना भाइरसका कारण चीनपछि सबैभन्दा बढी इरानमा ज्यान गएको छ । नयाँ भाइरसबाट ज्यान गुमाउने र मृत्यु हुनेको संख्या बढेपछि प्रभावित प्रान्तमा विद्यालय, विश्वविद्यालय र सांस्कृतिक केन्द्र बन्द गरिएको अलजजिराले बताएको छ । कोरोना भाइरसलाई फैलिनबाट रोक्न भन्दै उक्त कदम चालेको इरानी अधिकारीहरूले बताएका छन् ।

अधिकारीका अनुसार कोम, गोलेस्तान र राजधानी तेहरानसहित विभिन्न १४ प्रान्तका शैक्षिक संस्था र सांस्कृतिक केन्द्रहरू बन्द गरिएको छ । गत डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना भाइरसबाट हालसम्म संसारभर २४ सय ६२ जनाको ज्यान गइसकेको छ । त्यस्तै ७६ हजारभन्दा बढी संक्रमित भएका छन् ।