प्रधानमन्त्रीद्वारा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आह्वान, संसदमा अलपत्र परेको अध्यादेशबारे निर्णय हुने

प्रधानमन्त्रीद्वारा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आह्वान,  संसदमा अलपत्र परेको अध्यादेशबारे निर्णय हुने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन्। प्रधानमन्त्रीले शुक्रवार साँझ ५ बजे बस्नेगरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

ओली नेतृत्वको सरकार बनेपछि सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले १० सदस्यीय संयन्त्र बनाएका थिए। संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल छन्।

कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा छन्। सरकारले ल्याएको अध्यादेशमा राष्ट्रियसभामा बहुमत पुग्न नसकेको कारणले एक महिनादेखि अगाडि बढ्न सकेको छैन।

भोलिको बैठकले अलपत्र परेको अध्यादेशबारे निर्णय गर्ने स्रोतले जनाएको छ । भोलि नै अध्यादेशका लागि निर्णायक जसपा नेपालले पनि छलफल गर्दैछ ।