गगनले किन गरे सरकार छाड्ने कुरा?

गगनले किन गरे सरकार छाड्ने कुरा?


काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले कानुनको शासन र प्रजातान्त्रिक अधिकारको बारेमा सत्तारुढ दल एमालेसँग कुनै सम्झौता नहुने बताएका छन् । आज (सोमबार) कांग्रेस प्यूठान जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले कानुनको शासन र प्रजातान्त्रिक अधिकारमा सम्झौता गर्नुपर्ने परिस्थिति आएमा कांग्रेस सरकार छाड्न तयार रहेको बताएका हुन् ।

‘नेकपा (एमाले) सँग मिलेर हाम्रा केही शर्तहरु छन् । विधिको शासन, कानुनको शासनमा सम्झौता गर्नुपर्यो भने सरकार छाड्छौं । तर, कानुनको शासनमा सम्झौता गर्दैनौं । प्रजातान्तिक अधिकार, त्यो भनेको तपाईँको, मेरो बोल्न पाउने अधिकार, तपाईँ र मेरो हिँड्न पाउने अधिकार, आधारभूत अधिकार, जुन अधिकारको लागि यो पार्टी जन्मियो, त्यो अधिकारमा सम्झौता गर्नुपर्यो भने कांग्रेसले सरकार छाड्छ । त्यो अधिकारसँग सम्झौता गर्दैन,’– उनले भने ।

साथै, कांग्रेसले एमालेसँग केन्द्रदेखि जिल्लासम्म बराबरीको व्यवहार चाहेको उनले बताए । आफूहरु एमालेलाई नहेप्ने र एमालेबाट हेपिएर पनि सरकारमा नबस्ने उनको चेतावनी छ । महामन्त्री थापाले कहीँकतै दुर्व्यवहार भएको खण्डमा त्यो सहेर कांग्रेस सरकारमा नबस्ने बताए ।

एमालेसँग सरकारमा रहने कुरामा २०८४ सालसम्म कांग्रेसको इमानदार प्रयत्न रहने पनि उनले बताए । अहिले भएको समझदारी कार्यान्वयन गर्ने कुरामा कांग्रेसले कहीँकतै चकचक नगर्ने र उफ्रेर कतै नजाने उनले बताए ।