वर्षमान र जनार्दनको काँधमा प्रचण्डको हात, सुरु भयो माओवादीको अभियान

वर्षमान र जनार्दनको काँधमा प्रचण्डको हात, सुरु भयो माओवादीको अभियान

काठमाडौं । नेकपा माओवादी केन्द्रको ‘तराई मधेश जागरण अभियान’ सुरु भएको छ । झापाको कचनकवलबाट सुरु भएको अभियान चैत्र ७ गते कञ्चनपुर पुगेर समापन हुने माओवादीले जनाएको छ ।

अभियानको क्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको केन्द्रीय नेतृत्व झापामा छन् । आइतबार राति नेताहरू कार्यकर्ता र सर्वसाधारणको घरमा बसेका थिए । अभियान अवधिभर कोही पनि होटलमा नबस्ने नीति अन्तर्गत स्थानीयको घरघरमा बास बसेको माओवादी केन्द्र झापाका इन्चार्ज रञ्जित तामाङले बताए ।


‘तराई–मधेस जागरण अभियान टोलीमा अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपलब्ध उपाध्यक्षहरू, महासचिव देव गुरुङ र उप–महासचिवहरू जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेतलगायत छन् । माओवादीको जिल्ला र प्रदेशका नेताहरु पनि रहने छन् ।

माओवादीले आफ्नो पार्टी जनतासँग टाढा भएको भन्दै अब जनतासँग जोडिने गरि कार्यक्रम गर्ने भन्दै अभियान संचालन गर्न लागेको बताएको छ ।

अभियानका क्रममा सरकारले गरेका गलत कामको विरोध गर्ने, जनतालाई सचेत बनाउने, आफू सरकारमा हुँदा गरेका राम्रा काम जनतासमक्ष लैजाने माओवादी केन्द्रको तयारी छ ।

यसैबीच, प्रचण्डसहित माओवादी नेताहरूले आज बिहान मर्निङवाक गरेका  थिए।  प्रचण्डको टोलीले पृथ्वीनगरको सगरमाथा चोकदेखि किच्चक बध हुँदै स्थानीय चारआलीबाट  पुनः सगरमाथा चोकसम्म मर्निङवाक गरेकोथियो।

दुई सय बढी नेता कार्यकर्ताको साथमा प्रचण्डले बिहान ५ः३० देखि ७ः३० सम्म दुई घण्टामा साढे ६ किलोमिटर यात्रा गरेका छन् ।