काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले छुन नसक्ने बताएका छन् । आज (आइतबार) कांग्रेस रोल्पाको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले कांग्रेसले नै लडेर यो व्यवस्था ल्याएकाले जोगाउने जिम्मा पनि आफूहरुको हुने बताएका हुन् ।
महामन्त्री थापाले अहिले आफूहरु एमालेसँगको सरकारमा रहेको र अब माओवादीलगायतका दलहरुलाई मिलाएर यो समयको अधिकतम् सदुपयोग गर्ने पक्षमा आफूहरु रहेको बताए ।
‘हाम्रो यत्रो दुःखबाट यो व्यवस्था ल्याएका छौं । यो व्यवस्थालाई पनि टिकाउँछौं, संविधानलाई पनि टिकाउँछौं, संघीय लोकतान्त्रिक गणतन्त्रलाई पनि टिकाउँछौं । गणतन्त्र कसैले चलाउन सक्दैन, लोकतन्त्र कसैले चलाउन सक्दैन । यी सबै व्यवस्थालाई जोगाएर अहिले एमालेसँग सरकारमा छौं, माओवादीलाई पनि मिलाउँछौं । सबै अरु पार्टीहरुलाई पनि मिलाएर, सबैसँग सहकार्य गरेर ८० सालदेखि ९० सालको बीचमा ८४ मा एउटा चुनाव आउँछ । ०८४ को चुनाव लडौंला । ०८४ को चुनाव त्यहीबेला चर्चा गरौंला । अहिलेको लागि यो समयको अधिकतम् सदुपयोग गर्ने, राष्ट्र निर्माणका निम्ति सबैलाई मिलाएर लिएर जाने कर्तव्य नेपाली कांग्रेस पूरा गर्न चाहन्छ,’– उनले भने ।
उनले सबैलाई मिलाएर लानका लागि कांग्रेसका कुनै पनि सदस्यले कायर र कमजोर कुरा गर्न नहुने र पलायनको दृष्टिकोण राख्न नहुने बताए । कांग्रेसको नेतृत्वमा आएको संविधानको रक्षा गर्दै देश बदल्ने अभियानमा आफूहरु रहेको पनि उनले दाबी गरे ।