प्रधानमन्त्री ओलीलाई चाहेको दिन हटाउन सक्ने तागत कांग्रेससँग छः महामन्त्री थापा

प्रधानमन्त्री ओलीलाई चाहेको दिन हटाउन सक्ने तागत कांग्रेससँग छः महामन्त्री थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चाहेको दिन हटाउने आफूहरुसँग तागत रहेको बताएका छन् । आज (शनिबार) कांग्रेस सल्यानको जिल्ला सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले केही समयपछि कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने पनि बताए । ‘हामी संसद्को सबैभन्दा ठूलो पार्टी छौं अहिले । हामीले बनाएको प्रधानमन्त्री हुनुहुन्छ, हामीले चाहेको दिन प्रधानमन्त्रीबाट हटाउने तागत पनि राख्छौं । केही समयपछि हाम्रो नेतालाई प्रधानमन्त्री पनि बनाउँछौं हामी,’– उनले भने ।

महामन्त्री थापाले सरकारको कामको गति नपुगेको पनि टिप्पणी गरे । उनले अहिलेको परिस्थितिमा सरकारमा बसेकाहरुले महशुस गर्नुपर्ने बताए । उनले प्रधानमन्त्री ओलीलाई दिनदिनै सरकार ढल्दैन भनेर नभन्नसमेत आग्रह गरे । 

कांग्रेसले निर्णय नगरेसम्म वर्तमान सरकार नढल्ने उनको भनाइ छ । साथै, सुशासनको कुरा प्रधानमन्त्री ओलीले म भ्रष्टाचार गर्दिनँ भनेर मात्रै नपुग्ने उनले बताए । भ्रष्टाचार गर्यो कि गरेन भन्ने कुरा आम नागरिकहरुले घटना, पात्र र प्रवृत्तिहरुबाट महसुश गर्नुपर्ने उनको भनाइ छ ।

साथै, केही समयपछि कर्णालीमा कांग्रेसबाट जीवन शाही मुख्यमन्त्री बन्ने पनि महामन्त्री थापाले उद्घोष गरे । उनले भने,‘मुख्यमन्त्री हामीले बनाएका छौं, केही समयपछि कर्णालीका साथी जीवन शाहीलाई फेरि यहाँको मुख्यमन्त्री बनाउँछौं । हामी नेपालको सबैभन्दा ठूलो पार्टी हो । देशको अहिलेको अवस्थालाई चिर्ने काम नेपाली कांग्रेसको हो । हामी नेपालको सबैभन्दा जिम्मेवार शक्ति भएको हुनाले गर्दा हामी राष्ट्रिय पार्टी हो,’– उनले भने ।