केआईआईटीले कुटपिट गरी निकालेका ९५ विद्यार्थी नेपाल आइपुगे, यसरी सम्झिए घटना

केआईआईटीले कुटपिट गरी निकालेका ९५ विद्यार्थी नेपाल आइपुगे, यसरी सम्झिए घटना

पर्सा । भारतको ओडिशा राज्यस्थित भुवनेश्वरको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयबाट अपमानपूर्वक कुटपिट गरेर निकालिएका नेपाली विद्यार्थीहरू नेपाल आइपुग्न थालेका छन् ।

भुवनेश्वरबाट सोमबार राति नै हिँडेका करिब ३ सयभन्दा बढी विद्यार्थीमध्ये एउटा समूह सडकमार्ग हुँदै बुधबार बिहान वीरगञ्ज आइपुगेको हो । पहिलो समूहमा ९५ जना विद्यार्थी बुधबार बिहान वीरगञ्ज आइपुगेको पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले बताए । कलेजबाट निकालिएका विद्यार्थीहरू वीरगञ्ज नाका हुँदै घर फर्किएको गौतमले बताए ।

उनका अनुसार अहिलेसम्म ७६ छात्र र १९ छात्रा वीरगञ्ज हुँदै घर फर्किएका छन् । फर्किएकामध्ये ८० प्रतिशत विद्यार्थी पर्साकै हुन् । केही विद्यार्थी मात्रै अन्य जिल्लाका छन् ।

‘थप विद्यार्थी आउने क्रम जारी छ । जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरेर विवरण सङ्कलन गरेर सुरक्षित रुपमा घरसम्म पुर्‍याउने व्यवस्था मिलाएका छौँ,’ उनले भने, ‘विद्यार्थीहरू अधिकांश पर्सा तथा बारा, रौतहट र मकवानपुर लगायतका छन् ।’

वीरगञ्जको शङ्कराचार्य गेट हुँदै आएका विद्यार्थीलाई स्थानीय साउथ जोन स्कुलका दुईवटा स्कुल बसमा सिमरासम्म पुर्‍याइएको छ । स्कुलका सहायक प्रधानाध्यापक अशोक सङ्ग्रौलाले आइरहेको अर्को समूहका विद्यार्थीलाई लिन बस पठाइने बताए ।

नेपाल फर्किएका विद्यार्थीले विश्वविद्यालयले अत्याचार गरेको बताएका छन् । प्रकृति लम्सालको शङ्कास्पद मृत्युपछि विरोध गरिरहेका विद्यार्थीलाई विश्वविद्यालय प्रशासनले गुन्डा र सुरक्षागार्ड लगाएर कुटपिट गर्दै होस्टेलबाट निकालेको विद्यार्थीहरूले बताए ।

‘हामीलाई आफ्नो सामान जम्मा गर्नसमेत समय दिएनन् । होस्टेलमा आएका गुन्डाले कुटपिट गर्दै निकाले,’ वीरगञ्ज आइपुगेका ती विद्यार्थीले भने, ‘केटा(केटी दुवैलाई कुटपिट गर्दै निकाले । हाम्रा कयौँ साथीहरू घाइते छन् ।’

भुवनेश्वरका विभिन्न रेल स्टेशनमा जबरजस्ती छाडिएकामध्ये करिब ३ सय विद्यार्थी कोलकाता पुगेका थिए । त्यहाँबाट उनीहरू फरक फरक बाटो हुँदै घरसम्मको यात्रामा लागेका हुन् ।