काठमाडौं ओडिसास्थित केआईआईटी विश्वविद्यालय भुवनेश्वरमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणमा भारतीय प्रहरीले छानबिन तीव्र बनएको छ ।
केआईआईटीमा अध्ययनरत प्रकृतिको शव विश्वविद्यालयकै होस्टेलमा शंकास्पद अवस्थामा भेटिएपछि त्यहीँ अध्ययनरत भारतीय युवा २१ वर्षीय अद्विक श्रीवास्तव पक्राउ परेका छन् । श्रीवास्तविरुद्ध बीटेक (मेकानिकल) तेस्रो वर्षका विद्यार्थी २४ वर्षीय सिद्धान्त सिग्देलले कम्प्युटर तेस्रो वर्षमा अध्ययनरत बहिनी २० वर्षीया प्रकृति लम्सालको मृत्यु भएको खबर इन्फोसिटी प्रहरी थानामा आइतबार नै दिएका थिए ।
केआईआआईटी विश्वविद्यालयको बीटेक (मेकानिकल) तेस्रो वर्षमा अध्ययनरत अद्विक श्रीवास्तवले गरेको दुर्व्यवहारका कारण प्रकृतिले आत्महत्या गरेको उजुरी सिद्धान्तले गरेका थिए । त्यसपछि इन्फोसिटी प्रहरी थानामा अद्विक श्रीवास्तवविरुद्ध आत्महत्या दुरुत्साहन गरेको आरोपमा फौजदारी मुद्दा दर्ता गरिएको भुवनेश्वर प्रहरीले जानकारी दिएको छ ।
अभियुक्त अद्विक श्रीवास्तवलाई सोमबार पक्राउ गरी त्यही दिन न्यायिक हिरासतमा पठाइसकिएको पनि प्रहरीले जानकारी दिएको छ । प्रमाणका रूपमा कागजात र प्रकृतिले प्रयोग गर्ने इलेक्ट्रोनिक ग्याजेटहरू जफतसहित मुद्दाको अनुसन्धान जारी रहेको भुवनेश्वर प्रहरीले मंगलबार विज्ञप्तिमार्फत् जनाएको छ ।
प्रहरीका अनुसार प्रकृतिको मृत्युपछि केआईआईटी विश्वविद्यालय प्रशासनले सोमबार बिहान नेपाली विद्यार्थीहरूलाई कलेजभित्र भेला भएर आन्दोलन गरेको, अनुशासनहीन गतिविधि गरेको भन्दै छात्रावास खाली गर्न लगाएको थियो । केआईआईटी छात्रावासबाट विद्यार्थीको निष्कासनको कदम कलेजले एक दिनमै फिर्ता लिएर नेपाली विद्यार्थीहरूलाई आआफ्नो होस्टेलमा फर्कन अपिल गरिसकेको पनि प्रहरीले जनाएको छ ।
प्रहरीले विश्वविद्यालयका सुरक्षाकर्मीहरूले विद्यार्थीहरूलाई दुर्व्यवहारबारेमा पनि रिपोर्ट लिएर इन्फोसिटी पीएसमार्फत आपराधिक मुद्दा दर्ता गरिएको जनाएको छ।यस प्रकरणमा विश्वविद्यालयका सुरक्षा गार्डहरू ४५ वर्षीय रमाकान्त नायक, रवीन्द्र नायक, जोगेन्द्र बेहेरा र बेगु बहेरा रहेका छन् । उनीहरू सबैलाई पक्राउ गरिएको भुवनेश्वर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अहिले सबै आपराधिक मुद्दामा अनुसन्धान चलिरहेको छ । प्रहरीले वस्तुनिष्ठ, निष्पक्ष र न्यायपूर्ण अनुसन्धान सुनिश्चित गरिने पनि जनाएको छ । भुवनेश्वर प्रहरीले नेपाली विद्यार्थीलगायत सबैको सुरक्षा सुनिश्चित गर्न प्रतिबद्ध रहेको पनि जनाएको छ ।