काठमाडाैं। भारतको एक विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीको मृत्यु प्रकरणमा नयाँ दिल्लीस्थित नेपाली राजदूतावास पनि सक्रिय भएको छ।
दूतावासले विज्ञप्ति जारी गर्दै नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछिका घटनाक्रमलाई लिएर सम्बन्धित विश्वविद्यालयका रजिष्ट्रारदेखि केन्द्र सरकार तथा उडिसा राज्यको मुख्यमन्त्री कार्यालय र अन्य सम्बन्धित भारतीय निकायसँग निरन्तर सम्पर्क गरिरहेको जनाएको छ।
‘ती निकायबाट आवश्यक सहयोग एवं समन्वय भइरहेको छ’, दिल्लीस्थित नेपाली दूतावासले भनेको छ, ‘प्रभावित नेपाली विद्यार्थी तथा अभिभावकहरुले केही समस्या भए यस राजदूतावाससँग इमेल सम्पर्क गर्न सक्नुहुनेछ।’ दूतावासले स्वर्गीय लम्सालको मृत्यु सम्बन्धमा स्वतन्त्र र निष्पक्ष तवरले अनुसन्धान हुन जोड दिएको जनाएको छ।
उनी मृत भेटिएको कलेज कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)ले सो विषयलाई गम्भीरतापूर्वक लिने प्रतिबद्धता जनाएको पनि दूतावासले उल्लेख गरेको छ।
मृत्युपछि नेपाली विद्यार्थीलाई सो कलेजले निकाला गरेको थियो। त्यसपछि दूतावासले गरेको छलफलमा उनीहरुको सुरक्षा सुनिश्चितता गर्दै सोही शैक्षिक संस्थाको छात्रावासमा बस्ने प्रबन्ध मिलाउन पनि अनुरोध गरिएको थियो।
दूतावासको अनुरोधअनुसार केआईआईटीले सोहीअनुसार विद्यार्थीलाई छात्रावासमा बस्ने व्यवस्था मिलाई नेपाली विद्यार्थीहरुको लागि कक्षा सञ्चालनको व्यवस्था गर्ने जानकारी प्राप्त भएको दूतावासले जनाएको छ।